निर्वाचन बिथोल्न खोजे गोली हान्ने अधिकार



काठमाडौं, (नेस)
आज बिहीबार हुने निर्वाचनको सबै प्रकारको सुरक्षा व्यवस्था तयार गरिएको सरकारले जनाएको छ। ४५ जिल्लाको १ सय २८ निर्वाचन क्षेत्रका लागि हुने मतदानमा सहभागी हुने मतदाताको सुरक्षाका लागि २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृह–सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो।

निर्वाचनलाई भयरहित बनाउन ४५ जिल्लाका विभिन्न भागमा हेलिकोप्टरसहितको सुरक्षाकर्मीलाई तैनाथ गरेको र कुनै पनि घटना भएको १० मिनेटदेखि आघा घण्टामा सुरक्षाफौज पुग्ने गरी तयारी गरेको पनि सचिव सापकोटाले जानकारी दिनुभयो।

छिटफुट रूपमा बम बिष्फोटका घटना हुनथालेपछि सुरक्षा निकायलाई हाइ अलटमा राखिएकाले अप्रिय घटना नहुने दावी पनि उहांले गर्नुभयो। सबै मतदातालाई ढुक्कका साथ निर्वाचनमा सहभागि हुन समेत सरकारले आग्रह गरेको छ। निर्वाचन बिरोधी केही तत्वहरूले निर्वाचनमा ब्यवधान खडा गर्न खोजेको भएपनि सुरक्षा निकायले उनीहरूको योजनालाई निस्तेज पार्ने काम गरेको उहांले दावी गर्नु भयो।

मतदानस्थलको सुरक्षाकालागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै सुरक्षा घेरा रहने र निर्वाचन बिथोल्न खोजे गोलि हान्ने अधिकार समेत प्रदान गरेको उहांले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्