“सन्यास लिन बाध्य भएँ”



नेपालका राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर अनील गुरुङले गत कात्तिक २८ गते अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिए। पोखरामा जन्मेका अनीलले ५०औं क्यापपछि सन्यास लिन गरेको तयारी पनि पूरा गरे।

२००७ मा ओमानविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका अनीलले फिलिपिन्सविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेले। सागर थापाको कप्तानी छिनेपछि अनील २०७२ सालमा राष्ट्रिय टोलीका १५औं कप्तान बनेका थिए।

अनील कप्तान बनेपछि गत वर्ष नेपाललाई सोलीडारिटी कपमा उपाधि दिलाए। अनीलले यसपछि चौथो साफ च्याम्पियनसिपमा नेपालको नेतृत्व गरेका थिए। गत वर्षदेखि भने अनीलको राष्ट्रिय टोलीमा भित्रबाहिरको खेल शुरू भएको थियो।

अनीलले एएफसी एसियन कप छनोटअन्तर्गत पाँच खेलमध्ये दुई खेल मात्रै खेल्न पाए। घरेलु मैदानमा भएको यमनविरुद्ध अन्तिम एक मिनेट बाँकी हँुदा उनलाई खेलाइएको थियो।

फिलिपिन्सविरुद्ध पनि अन्तिम ९ मिनेट उनले खेल्न पाए। जुन खेल उनको अन्तिम अन्तर्राष्ट्रिय खेल पनि थियो।

३१ वर्षमा लागेका अनील–‘ए’ डिभिजनको मनाङ मस्र्याङदी क्लबसँग आबद्ध छन्। अनीलसँग नेपाल समाचारपत्रका संवाददाता फिरोज राजोपाध्यायले गरेको छोटो कुराकानी।

सन्यास चाँडै लिनुभयो नि ?
त्यस्तै भन्नुपर्यो। एउटा गीत छ नि—मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ ..। सन्यास लिन बाध्य भएँ।
टोलीमा भित्र–बाहिर भइरहेकाले सन्यास लिनुभएको ?
खोइ? के भन्नु, राष्ट्रिय टोलीको कप्तान भए पनि टिममा नपर्नु मलाई नै आश्चर्य लाग्छ। यसैले पनि करिअर अगाडि बढाउन नसकिने भयो।
अर्को घरेलु मैदानमै घरेलु दर्शकबीच सन्यास लिनु राम्रो देखियो। योभन्दा राम्रो मौका अरू हुन सक्दैन। राष्ट्रिय टोलीबाट ५०औं क्याप पनि भइसकेकोले सन्यास लिनु नै जाति भयो।

प्रशिक्षकसँग खटपट भएको हो कि? अन्तिम खेलमा पनि पूरै खेलाइएन किन?
राष्ट्रिय कप्तान हुनु मलाई फाइदा भएन। जापानी प्रशिक्षकले मलाई त्यति महत्त्व पनि दिनुभएन।
कप्तानका साथै म १ जना सिनियर खेलाडी पनि हँु तर मलाई टोलीमा भएको वा नभएको कुनै सूचना नै हँुदैन। करिब १ वर्ष म यस्तै तनावमै रहे।

जापानी प्रशिक्षक भए पनि नेपालको स्तर त्यति माथि उठेन किन?
विदेशी प्रशिक्षक हुँदैमा स्तर माथि उठाउन सकिँदैन भन्ने मैले महसुस गरे। वहाँको रणनीति एट्याकिङ पनि देखिँदैन। खासै राम्रो देखिएन।
तपाईं अब टोलीमा पर्ने–नपर्ने तनावबाट मुक्त हुनुभयो?
अँ अब त्यो तनावबाट म मुक्त भइसकें। मैले एकदम आराम महसुस गरिरहेको छु, अहिले।
तपाईंको करिअरमा सुखद क्षण र दुःखद क्षण कहिले भयो?
बिदाइ यस्तो हुन्छ भनेर मैले सोचेको थिइनँ। एकदम राम्रो भयो। सबैले त्यति नै सम्मान गर्नुभयो मलाई। यो मेरो करिअरको सबैभन्दा सुखद क्षण बन्यो।
दुःखद क्षण भनेको सन्यास लिनु हो। किनभने प्रायःजसो समर्थक र शुभचिन्तकले मेरो सन्यासमा खुसी जनाएनन्।
भविष्यमा के गर्नुहुन्छ? बाहिर जानुहुन्छ कि व्यवसाय गर्नुहुन्छ?
मेरो बाहिर जाने वा व्यवसाय गर्ने कुनै योजना छैन। क्लबस्तरीय खेलिरहने छु।
साथै प्रशिक्षकको प्रशिक्षण लिएर यही फुटबलमै रहने मेरो अर्को योजना पनि छ।

प्रतिक्रिया दिनुहोस्