मदानेमा मतगणना शुरु, दरबारमा कांग्रेस



गुल्मी, (नेस)
गुल्मीको मदाने गाउँपालिकामा राजनैतिक बिबादका कारण रोकिएको मतगणना शुरु भएको छ। बुधबार मतदान सकिएपछि दुई युवाबीच झड्प भएको विषयले मतगणना शुरु नै भएको थिएन। शुक्रबार साझ सर्बदलीय बैठक बसेर सहमती जुटेपछि मतगाण्ना शुरु गरिएको छ।

झडपमा मदाने गाउँपालिका ४ का हेरम सेन घाइते भएका थिए। सेनलाई कुटपिट गर्ने युवालाई कारबाहीको माग गर्दै स्थानीयले मतगणनामा अवरोध गरेका हुन्। घटनामा सहभागी दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालयमा किटानी जायरको मुद्दा दर्ता गर्ने भएपछि मतगणना शुरु भएको भरत चन्दले जानकारी दिए।

अवरोधका कारण दुई दिनसम्म मतगणना प्रभावित भएको थियो। जिल्लाका अन्य ११ स्थानीय तहमध्ये केही स्थानीय तहको नतिजा आउने क्रममा रहेको छ।

यस्तै गुल्मीकै जिल्लाको गुल्मी दरबार गाउँपालिका नेपाली कांग्रेसले जितेको छ। बिहीबार बिहानबाट मतगणना शुरु भएको थियो। जुन गाउँपालिकामा नेपाली कांग्रेस अशोककुमार थापा गाउँपालिका प्रमुखमा विजयी बनेका छन्। उनले नेकपा एमालेका कृष्ण भुसाललाई ८ सय २५ मतको अन्तरले पराजित गरेका छन्।

थापाले ५ हजार ५ सय ७५ र भुसालले ४ हजार ७ सय ५० मत प्राप्त गरेको शिक्षक सन्तोष शर्माले बताए। त्यस्तै गुल्मी दरबार गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकै मिना भण्डारीले ८ सय ९० मत अन्तरले एमालेकी शुशिला पुनलाई पराजित गरेकी छन्। भण्डारीले ५ हजार ६ सय ८ र पुनले ४ हजार ७ सय १८ मत प्राप्त गरेकी छन्।

गुल्मी दरबार गाउँपालिकामा १५ हजार ३ सय ६७ मतदाता मध्ये ११ हजार ३४ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसले ४ र नेकपा एमालेले तीन वडा जितेको छ।

 

सबै वडा दुवै पार्टीले प्यानलनै जितेका हुन्। २ नगर र ९ गाउँपालिकामा मतगणना कार्य भइरहेको छ। भने केही मतपरिणाम आउनेक्रम पनि जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्