सुदूरपश्चिममा एमाले र कांग्रेसबीच कडा टक्कर



विमल विष्ट, डोटी
सुदूरपश्चिममा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस तथा नेकपा एमालेबीच कडा प्रतिस्प्रर्धा देखिएको छ। कांग्रेस एमालेबीच झिनो मतान्तर रहेको देखिएको छ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार डोटीको दिपायल सिलगढी, शिखर नगरपालिका, जोरायल र बड्डीकेदार गाउँपालिकामा कांग्रेस तथा आदर्श, केआइसी र सायल गाउँपालिकामा नेकपा एमाले अगाडि रहेको छ।

अछामको कमलबजार नगरपालिका र ढकारी, बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली कांग्रेस, पञ्चदेवल विनायक र मंगलसेन नगरपालिका एमाले तथा रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

बाजुराको बडिमालिका, बुढीनन्दा नगरपालिका र स्वामिकार्तिक गाउँपालिकामा नेपाली कांग्रेस तथा गौमुल गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

७ नम्बर प्रदेशका ८८ स्थानीय तहमध्ये प्रारम्भिक मतपरिणाम सार्वजनिक भएका बझाङका १÷१ स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेले जितेका छन्। बझाङको काँडा गाउँपालिकामा कांग्रेस र मष्टा गाउँपालिकामा एमाले विजयी भएको छ।

विवरण प्राप्त भएका ५८ स्थानीय तहमध्ये २ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने ५६ स्थानीय तहमा मतगणना भइरहेको छ। सुदूरपश्चिमका ३० स्थानीय तहको विवरण प्राप्त हुन सकेको छैन।

प्राप्त विवरणअनुसार मतगणना भइरहेका स्थानीय तहमध्ये नेपाली कांग्रेस २४ स्थानीय तहमा, नेकपा एमाले २२ स्थानीय तहमा, नेकपा माओवादी केन्द्र ६ स्थानीय तहमा, राप्रपा २ स्थानीय तहमा र लोकतान्त्रिक फोरम २ स्थानीय तहमा अगाडि देखिएको छ।

कञ्चनपुरका भीमदत्त र महाकालीमा कांग्रेस, बेदकोट, कृष्णपुर, बेलौरी, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकामा एमाले तथा लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिका नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

कैलालीको धनगढी उपमहानगर, गोदावरी, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा कांग्रेस, बर्दगोरिया र चुरे गाउँपालिकामा नेकपा एमाले, घोडाघोडी नगरपालिकामा नेकपा माओवादी केन्द्र, कैलारी गाउँपालिकामा राप्रपा तथा टीकापुर र भजनी नगरपालिकामा लोकतान्त्रिक फोरमले अग्रता लिएको छ।

त्यस्तै डडेल्धुराको अमरगढी नगरपालिका, आलिताल, गन्यापधुरा र नवदूर्गा गाउँपालिकामा कांग्रेस, अजयमेरु र भागेश्वर गाउँपालिकामा एमाले तथा पर्शुराम नगरपालिकामा माओवादी केन्द्र अगाडि रहेको छ।

बैतडीको दशरथचन्द नगरपालिकामा राप्रपा, पाटन नगरपालिका, पञ्चेश्वर, शिवनाथ र सुर्नाया गाउँपालिकामा एमाले, पुर्चाैडी र मेलौली नगरपालिका कांग्रेस तथा दोगडाकेदार गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेका छन्।

दार्चुलाको शैल्यशिखर नगरपालिका र ब्यास गाउँपालिकामा कांग्रेस तथा नौगाड, मार्मा र लेकम गाउँपालिकामा एमाले अगाडि रहेका छन्।

उता कैलालीको धनगढी उपमहानगरपालिकामा दलीय उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारले कडा प्रतिस्पर्धा गरिरहेका छन्। शुरुदेखि नै कडा टक्कर दिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमाल केही मतान्तरले पछाडि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्