माओवादी केन्द्रको विजय जुलुसमा एमालेको आक्रमण, घाईते लिन सेनाको हेलिकप्ट परिचालन



नेपाल समाचारपत्र, अछाम । नेकपा माओवादी केन्द्रको बिजय जुलुसमाथि एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गर्दा अछामको रामारोशनमा माओवादीका आठ बढी कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पुरै प्यानलसहित विजयी भएपछि निकालिएको जुलुसमा एमाले कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए । मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेको माओवादी केन्द्रको उप प्रमुख पदका उम्मेदवार सरस्वती रावलले जानकारी दिनुभयो ।

हिजो राती भएको उक्त घट्नामा परी सुरत साउँद, टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद, कमल साउद, पुरन साउद, कृष्ण साउद र बम बहादुर साउद घाइते भएको माओवादी केन्द्रले जनाएको छ । घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

घाइते दुबैको टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइतेको गाउँमै उपचार भइरहेको स्थानीय पुष्प बिष्टले जानकारी दिनुभयो । घट्नामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।

घटना पछि केहि समय मतगणना स्थगित भएको थियो । रामारोशनमा माओवादीले अग्रता कायम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्