निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्रीको धन्यवाद



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्णरूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ वटै जिल्लाका स्थानीय तहमा अत्यन्त उत्साहपूर्ण मतदान भएको छ। दशकौंसम्मको अविराम लोकतान्त्रिक संघर्ष यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर यो स्थानीय निर्वाचनले दिएको छ’ –प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ।

संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणको यस राष्ट्रिय महायज्ञमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले अत्यन्त उत्साह, संयम र धैर्यका साथ आफ्नो मत दिनुभएको बताउँदै उहाँले निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको जनाउनुभएको छ।

दोस्रो चरणको निर्वाचनमा देखिएको उत्साहजनक जनसहभागिताले आगामी असोज २ गते प्रदेश नं. २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनको सफलताको पूर्वसंकेत गरेको उहाँले स्पष्ट गर्नुभएको छ।
प्रधानमन्त्री देउवाले भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोग तथा मतदानमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत मतदाता सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई आफू र आफ्नो पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ।

दोस्रो चरणको निर्वाचनमा कुल ७३.६९ प्रतिशत मतदान
काठमाडौं, (नेस)
स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको अन्तिम तथ्यांक सार्वजनिक भएको छ। बुधबारको प्रारम्भिक परिणाम भने ७०.५ प्रतिशत रहेको थियो। तर, सबैतिरको सूचनाका आधारमा आयोगले विहीबार पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) मा प्राप्त विवरणअनुसार प्रदेश नं. १ मा ७२.४९, प्रदेश नं. ५ मा ७५.३४ र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ।

यसै गरी ती प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये बिहान ९ः३० बजेसम्म १ सय ६८ स्थानीय तहमा मतगणना शुरु भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा प्रदेश नं. १ का १३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्