विभिन्न ठाउँमा निर्विरोध निर्वाचित



काठमाडौँ, ६ असार । दोश्रो चरणको निर्वाचनमा देशका विभिन्न भागमा जनप्रतिनिधी निर्विरोध निर्वाचित भएका समाचार प्राप्त भएका छन् ।

निस्दीमा एमाले

रामपुर (पाल्पा)– पाल्पाको निस्दी गाउँपालिका–३ झिरुबासमा दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेकपा (एमाले)बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी कुमारी विक निर्विरोध निर्वाचित हुनुभएको हो ।

आइतबार भएको उम्मेदवारको मनोनयनको दर्ता क्रममा दलित महिला सदस्य पदमा उहाँको मात्र उम्मेदवारी आएको र उहाँविरुद्ध कसैले उजुरी नदिएपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको सहायक मतदान अधिकृत कल्पना अर्यालले जानकारी दिनुभयो ।

मिक्वाखोलामा काँगे्रस

ताप्लेजुङ–दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले सुदूरपूर्वी जिल्ला ताप्लेजुङबाट खाता खोलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसबाट लछिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभएको छ ।

बस्नेतले भन्नुभयो, “उहाँबाहेक अरु कसैको पनि उम्मेदवारी परेन र दाबी विरोध पनि परेन ।” लछिमाया जिल्लाको पहिलो निर्वाचित जनप्रतिनिधि बन्नुभएको छ । उक्त वडामा काँग्रेसबाहेकका दलले दलित पहिला उम्मेदवार नपाएपछि काँग्रेस निर्विरोध भएको हो ।

तेह्रथुममा काँग्रेस

तेह्रथुम– तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार विजुलीमाया शङ्कर निर्विरोध निर्वाचित हुनुभएको छ ।

आइतबार भएको उम्मेदवारी मनोनयनमा उहाँको एकल उम्मेदवारी परेको थियो । सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शङ्कर निर्विरोध निर्वाचित हुनुभएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताउनुभयो ।

सो वडामा एकमात्रै दलित घरधुरी भएकाले शङ्करको एकल उम्मेदवारी परेको हो । यसपालिको स्थानीय निर्वाचनमा शङ्कर जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन हुनुभएको हो ।

कानुनीरुपमै हरेक वडाबाट एकजना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि वर्षौंदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिला नेतृत्वमा पुग्दैछन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्