खोटाङमा उल्लासमय ढंगबाट उम्मेदवारी दर्ता जारी



रामधन राई,खोटाङ ।

दोश्रो चरण असार–१४ गतेका लागि तोकिएको स्थानीय तह निर्बाचनका लागि खोटाङमा उल्लासमय ढंगबाट उम्मेदवारी दर्ता भईरहेको छ ।

बिहान ८ बजेदेखि जारी उम्मेदवारी दर्ता कार्य मुख्य निर्बाचन अधिकृत तथा निर्बाचन अधिकृतको कार्यालयमा उल्लासका साथ शान्तिपुर्ण ढंगबाट जारी रहेको हो ।

२ नगर र ८ गाउँपालिका रहेको जिल्लामा निर्बाचनमा भाग लिने ७ दल तथा केही स्वतन्त्र उम्मेदवार दर्ताका लागि ¥यालीसहित निर्बाचन अधिकृतका कार्यालयमा गईरहेका छन् । उम्मेदवारीका लागि यसअघि नै दलगत रुपमा समय बाँडफाँड गरे अनुरुप उम्मेदवारी दर्ताका लागि निर्बाचन अधिकृतको कार्यालयमा पुगिरहेको जनाईएको छ ।

जिल्ला अदालतस्थित मुख्य निर्बाचन अधिकृत जिल्ला न्यायधिस शान्तिप्रसाद आचार्यको कार्यालयमा बसेको सर्बदलीय सर्बपक्षीय छलफलबाट सहमति गरे अनुरुप रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा अगाडी नेकपा माओबादी केन्द्र र नेकपा एमालेले उम्मेदवारी दर्ता गराईसकेका छन् ।

जिल्लाका मुख्य नगरपालिकाका रुपमा रहेको रुपाकोट मझुवागढीका १५ वटै वडाबाट आएका प्रस्ताबक, समर्थकलगायतका कार्यकर्ता तथा शुभचिन्तकहरुको ¥यालीले सदरमुकाम दिक्तेलबजार परिक्रमा गरेर मुख्य निर्बाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराईरहेका छन् ।

नेकपा माओबादी केन्द्र र एमालेको उम्मेदवारी दर्ता गराईसकेपछि नेपाली कांग्रेस उम्मेदवारी दर्ताका लागि ¥यालीसहित तयारी भईरहेका छन् ।

मनोनयन दर्ताका लागि नेकपा माओबादी केन्द्रलाई बिहान ८ बजेदेखि ८.४५, नेकपा एमालेलाई ९ बजेदेखि ९.४५, नेपाली कांग्रेसलाई १० बजेदेखि १०.४५, राप्रपालाई दिउँसो ११ बजेदेखि ११.४५ बजेसम्म, संघीय समाजबादी फोरम र नयाँ शक्तीको संयुक्त मोर्चालाई १२ बजेदेखि १२.४५ बजेसम्म, नेकपा मालेलाई १ बजेदेखि १.४५ बजेसम्म र खम्बूवान राष्ट्रिय मोर्चालाई २ बजेदेखि २.४५ बजेसम्मको समय छुट्याइएको भए पनि समयभित्र उम्मेदवारी दर्ता नभई ढिला भईरहेको छ ।

स्वतन्त्र उम्मेदवारलाई भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा मनोनयन दर्ता गर्न पाउने व्यवस्था मिलाईएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य नगरपालिका र गाउँपालिकामा पनि सहज तरिकाले फरक–फरक समयमा मनोनयन गर्ने तयारी गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्