चैत ३ देखि एसईई परीक्षा विद्यार्थीलाई गेटबाहिरै चेकजाँच



ईश्वरराज ढकाल, काठमाडौं
परीक्षामा अनियमितता बढी हुनसक्ने आशंकामा परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूको गेटबाहिरै खानतलासी गर्ने भएको छ। अघिल्लो वर्ष परीक्षा केन्द्र प्रवेश गरिसकेपछि मात्रै चेकजाँच गर्ने गरिएको थियो। विद्यार्थीलाई परीक्षाप्रति सचेत र प्रतिबद्ध गराउन गेटबाहिरै खानतलासी गर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँले विद्यार्थीलाई त्रासमा ल्याउनुभन्दा पनि त्राशमुक्त गर्न गेटबाहिरै खानतलासी गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। परीक्षामा २८ हजार ४ सय ४५ सुरक्षाकर्मी परिचालित हुनेभएका छन्। परीक्षालाई व्यवस्थित गर्न केन्द्र वरपर कसैलाई पनि प्रवेशमा रोक लगाइने भएको छ। परीक्षा नियन्त्रक रेग्मीले यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको जानकारी दिनुभयो । यही चैत ३ देखि ११ गते र प्राविधिकतर्फको १४ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ।नियमावली नआएका कारण पुरानै शैलीमा सञ्चालन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

शिक्षा ऐनको आठौ संशोधनअनुसार परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डको मातहतमा रहने व्यवस्था थियो। तर शिक्षा नियमावली पारित हुन नसकेका कारण यो वर्षको परीक्षा पुरानै शैलीमा परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्न लागेको नियन्त्रक रेग्मीले बताउनुभयो। माध्यमिक शिक्षा निर्देशिकाको आधारमा परीक्षा सञ्चालन हुन लागेको हो। शिक्षा ऐनको आठौँ संशोधनबाट कक्षा १२ सम्म विद्यालय तहमा पुनर्संरचना गरेपछि पहिलोपटक एसईई परीक्षा सञ्चालन हुन लागेको हो।परीक्षामा नियमिततर्फ ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थीले आवेदन फारम भरेका थिए। उनीहरूमध्ये केही अयोग्य हुनसक्ने र त्यसको तथ्याङ्क पछि आउने नियन्त्रक रेग्मीले बताउनुभयो। एक्जाम्टेडतर्फ १८ हजार ९ सय ९ र आंशिक ग्रेड वृद्धि गर्ने ५० हजार ८ सय ७३ विद्यार्थी रहेका छन्। गत वर्ष एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ थिए। ग्रेडिङ पद्धतिबाट परीक्षा दिने व्यवस्था भएकाले अघिल्लो वर्षको तुलनामा परीक्षार्थी घटेको हुनसक्ने पनिकाले जनाएको छ।

गत वर्षको परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थी आंशिक ग्रेड वृद्धिको परीक्षामा सहभागी भएको हुनसक्ने नियन्त्रक रेग्मीले जानकारी दिनुभयो। जीपीए २ दशमलब ६ ल्याउने विद्यार्थीहरू विभिन्न तहमा अध्ययन गरेका कारण एक्जाम्टेडमा विद्यार्थी घटेको हुनसक्ने पनिकाको दाबी छ। परीक्षामा १ हजार ९ सय २३ परीक्षा केन्द्र रहने भएका छन्। गत वर्ष १ हजार ९ सय ४३ केन्द्र कायम गरिएको थियो। यो वर्ष २० केन्द्र कम रहेका छन्। प्रतिकेन्द्र १५ जना सुरक्षाकर्मी परिचालित हुनेछन्। परीक्षामा १ हजार ९ सय २३ केन्द्राध्यक्ष, २२ हजार ५ सय ६१ निरीक्षक र अन्य कर्मचारी गरी ६७ हजार ५ सय ९१ जना कर्मचारी परिचालित हु्ने भएका छन्।

पनिकाले गत वर्षदेखि ग्रेडिङ पद्धतिबाट परीक्षाफल प्रकाशित गरेको थियो। परीक्षामा अनियमितता गर्ने विद्यार्थी, केन्द्राध्यक्ष र निरीक्षकलाई गत वर्षकै सजायको व्यवस्था गरिएको छ। परीक्षामा अनियमितता गर्ने परीक्षार्थीलाई बढीमा १ लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको नियन्त्रक रेग्मीले बताउनुभयो।

परीक्षा अनुगमन गर्न शिक्षा मन्त्रालयले १८ वटा क्लस्टर बनाएको छ। क्लस्टरमा खटिने सबै सह–सचिव रहेका छन्। ती सह–सचिवले कक्षा ११ र १२ को समेत अनुगमन गर्ने व्यवस्था गरेको छ। संघीय प्रणालीअन्तर्गत मन्त्रालयले १४ अञ्चललाई हटाएर १८ वटा क्लस्टर बनाइएको छ। क्लस्टर जिम्मा पाएका सह–सचिवहरू परीक्षा श्ुरु भएकै दिनदेखि अनुगमनमा खटिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्