भारतीय राजदूतलाई भ्याइनभ्याई



काठमाडौं, (नेस)
नेपालका लागि भारतीय राजदूत रञ्जित रायको विदाइको ओइरो लागेको छ। पछिल्लो एक महिनादेखि राजदूत रायले मधेस र पहाडका गरी विभिन्न स्थानमा सम्मान थाप्दैमा फुर्सद पाउनुभएको छैन।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आधिकारिक रूपमै रायको विदाइ समारोहको आयोजना गर्ने भएको छ। फागुन १४ गते शनिबार मोर्चाले राजधानीको र्याडिसन होटलमा राजदूत रायको विदाइ समारोह आयोजना गर्ने भएको छ।

उक्त विदाइ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डदेखि प्रतिपक्षी दलका नेता केपी ओलीसमेतको सहभागिता रहने मोर्चाले जनाएको छ।

मोर्चाका घटक सद्भावना पार्टीका सचिव राजाराम पासवानका अनुसार बुधबार बसेको मोर्चाको बैठकले रायको विदाइ कार्यक्रम तय गरेको नेपाल समाचारपत्रलाई बताउनुभयो।

यता जनकपुरधाममा बिहीबार भारतीय राजदूतको विदाइ कार्यक्रमको आयोजना गरेको छ। जानकी मन्दिरले रायको विदाइ एवं सम्मान कार्यक्रमको आयोजना गरेको हो।

बुधबार नै मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जन गर्न बनेको समितिलाई सुझाव पनि दिएको छ। जनसंख्या कै आधारमा स्थानीय निकाय निर्धारण हुनुपर्ने माग मोर्चाले दोहर्याएको छ।

स्ववीयु बारे मोर्चा छलफल गर्दै
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार गर्दै छ। दिउँसो बस्ने मोर्चाको बैठकमा स्ववियु निर्वाचनमा भाग लिने वा नलिने विषयमा निर्णय गर्ने भएको छ।

मोर्चा आवद्ध केही विद्यार्थी संगठनले स्ववियु निर्वाचनको विरोध गर्दै आएको छ भने केही संगठनले निर्वाचनमा जाने तयारी गरेको छ। बुधबार छलफल भए पनि निष्कर्ष निस्किएको छैन। तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकमा महन्थ ठाकुरसहित मोर्चाका नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्