निर्वाचनको मिति घोषणा गर्न एमालेको माग



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेले स्थानीय तह र केन्द्रीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ। संविधान कार्यान्वयन गर्नका लागि सरकार उदासीन रहेको निष्कर्ष निकाल्दै एमालेले निर्वाचनको मिति घोषणा गरेर मात्र संविधान कार्यान्वयन हुन सक्ने बताएको हो।

बुधबार एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पोटिब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट जारी भएको संविधानको रक्षा र कार्यान्वयन गर्न आफ्नो पार्टीको काँधमा ऐतिहासिक कार्यभार रहेको बताउनुभयो।

उहाँले २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकायहरू निर्वाचनको माध्यमबाट गठन गर्नु अनिवार्य रहेको बताउनुहुँदै भन्नुभयो– ‘निर्वाचनका मितिहरू अविलम्ब घोषणा गर्नुपर्छ, त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर हुनुपर्छ।

ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन।

बैठकमा अध्यक्ष ओलीले १० पेज लामो समसामयिक र राजनीतिक प्रतिवेदन पेस गर्नुभएको बताउनुहुँदै प्रचार विभाग प्रमुख भट्टराईले पोलिटब्युरो सदस्यहरूले अध्यक्ष गरेर बिहीबार बस्ने बैठकमा धारणा पेस गर्ने बताउनुभयो।

बैठकमा सचिव प्रदीप ज्ञवालीले पार्टी स्थायी समितिद्वारा पारित मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजनाहरू पेस गर्नुभएको छ। आगामी फागुन १४ गते देशभरिका क्याम्पसहरूमा हुने स्वतन्त्र विद्यार्थीहरूको निर्वाचन र त्यसमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा सचिव योगेश भट्टराई धारणा राख्नुभएको थियो।

सचिव भट्टराईका अनुसार बैठकमा अध्यक्षको प्रतिवेदन, मेची–महाकाली राष्ट्रिय अभियान, स्थानीय तहसहित सबै तहको निर्वाचन, स्ववियु निर्वाचनलगायत विषयमा छलफल हुने भएको छ।

त्यसै गरी एमालेले बुधबार डडेल्धुराको भागेश्वरबाट सदरमुकामतर्फ जाँदै गरेको से१ज ८३३ नं. को यात्रुवाहक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्