प्रधानसेनापतिद्वारा उद्घाटन



काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाडौंको शङ्खरापुर नगरपालिका–४ लप्सेफेदीस्थित मैत्री सेवाश्रममा नवनिर्मित दश कुटीको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो।

उक्त दश कुटी नेपाली सेनाको सैनिक कल्याणकारी कोषको लगानी तथा जेपी प्रतिष्ठानको संयोजकत्वमा सैनिक सेवाबाट अवकाश प्राप्त अधिकृत, पदिक तथा अन्य दर्जाका लागि निर्माण गरिएको हो। नवनिर्मित दश कुटीमध्ये अति विशिष्ट कुटी २ वटा, विशिष्ट कुटी ३ वटा र सामान्य कुटी ५ वटा रहेका छन्।

प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालले नेपाली सेनाको सहकार्यमा यस किसिमका परोपकारी कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै गौरवान्वित महसुस भएको विचार व्यक्त गर्नुभएको थियो।

प्रधानसेनापति क्षत्रीले उक्त प्रतिष्ठानको स्वास्थ्य एवं सभ्य, सुसंस्कृत तथा मर्यादित मानवीय समाज निर्माण गर्ने सुन्दर परिकल्पना ज्यादै नै सह्रानीय रहेको विचार व्यक्त गर्नुभएको थियो।

त्यसै गरी, उहाँले आश्रमले प्रदान गर्ने सेवा, मर्यादित र मानवीय समाज निर्माणमा कोसेढुङ्गा सावित हुने बताउनुभयो। साथै अहोरात्र राष्ट्रसेवकको रूपमा खटिई सेवा निवृत्त सैनिक पनि हिताधिकारी बन्ने हुँदा सो सेवा आश्रम र नेपाली सेनाबीचको सम्बन्ध आगामी दिनहरूमा झन् प्रगाढ हुन जाने विश्वाससमेत व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्