बालिकाको करणीपछि हत्या हत्यारा सार्वजनिक



चन्द्रौटा, (कपिलवस्तु)
छिमेकीकै अवोध बालिकाको करणीपछि हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ। कपिलवस्तुको शिवराज नगरपालिका १०, प्रगतिटोल ‘बी बस्ने विनय कुँवरका १९ वर्षीय छोरा भीमबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। हत्यारा कुँवरले बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा पनि फेला नपरेको तर बिहान साढे ६ बजेको समयमा बालिका जवई खोलामा तैरिरहेको मृत फेला परेको प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो।

बालिकालाई ललाइफकाइ लगेको र खोला किनारमा राति करणी गरी मुख थुनेर हत्या गरी पानीमा शव फेला परेको अनुसन्धानका क्रममा खुल्न आएको छ। घटनाको गहन अनुसन्धान र संकलित सूचनाको आधारमा छिमेकी कुँवरलाई शब फेला परेको ३ घण्टामै पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो।

पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन जबरजस्ती करणी तथा ज्यानसम्बन्धी महलअनुसार जिल्ला अदालत कपिलवस्तुमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यसअघि गत माघ २६ गते पकडीमा ५ जना युवाहरूले सामूहिक बलात्कार गरिएको घटना संलग्नमध्ये पक्राउ परेका दुई अभियुक्तलाई समेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्