जिप दुर्घटनाः ७ को मृत्यु ४ घाइते (अपडेट)



राम धामी, डडेल्धुरा ।
जिल्लाको पश्चिमी भागेश्वर गाविसबाट सदरमुकाम डडेल्धुरा आउँदै गरेको से १ज ८३३ नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

सदरमुकाम बगरकोट सडक खण्डको ठूलोखोला नजिकै बुधबार दिउँसो १२ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट ३ सय मिटर तल खसेको छ । भागेश्वर गाविस ४ सतिगाउँका लक्ष्मण भट्ट, सोही ठाउँका ६० वर्षीय जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस ५ का नरपती पाण्डेय, कामदेव चटौतको घटनास्थलमै र दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भागेश्वर ७ का ६५ वर्षीय पदम मल्लको उपचारको क्रममा मृत्यु भएको पनि डडेल्धुरा प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले घाइते ४ जनाको उपचार उपक्षेत्रिय अस्पताल डडेल्धुरामा भइरहेको बताए । अस्पतालमा भिमसिंह ठगुन्ना, रामेश्वर भट्ट, किशोर भट्ट र जानकी भट्टको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
जिप दुर्घटनाको खबर पाउने बित्तिक्कै उद्धारका लागि स्थानिय, प्रहरी, सशस्त्र पहरी आधा घण्टाभित्रमा घटना स्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिँहले बताए ।

उकालो घुम्तीमा गाडी चालकको लापर्बाहीको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । घटनास्थल सदरमुकामबाट करिव ७ किलोमिटर दुरीमा छ । जिल्लाका आन्तरिक रुटहरुमा उग्रतारा बस ब्यवासायी समितिले जिपहरु सञ्चालन गर्दै आएको छ । क्षमता भन्दा बढ्ता यात्रुहरु बोकेर जिपहरु सञ्चालन हुँदै आएका छन् । ग्रामीण क्षेत्र आवत जावत गर्ने अधिकांश सडक जोखिम पूर्ण छन् । निर्माणाधिन अवस्थामा रहेको वागबजार बगरकोट सडकमा बाटो खराब भएकै कारण दुर्घटना भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्