भोलिबाट ३ दिन उच्च मौसमी सतर्कता

1.22k
Shares

– हिमपात र भारी वर्षाको सम्भावना
– उच्च हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न आग्रह
– १२ गतेअघि वा १५ गतेपछि मात्र धान काट्न सुझाव
– आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने

काठमाडौँ ।

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले विशेषगरी चार प्रदेशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । जल तथा मौसम विज्ञानविभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि बिहीवार बेलुकीदेखि शनिवारसम्म प्रणालीको प्रभाव रहने पूर्वानुमान छ । विभागका प्रवक्ता विभूति पोखरेलले वर्षात भन्दा पनि हिमपातको बढी सम्भावना रहेको जानकारी दिनुभयो । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा बढी असर पार्ने सम्भावना रहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘धेरै आत्तिनुपर्ने अवस्था रहेको छैन । तैपनि विभागबाट निरन्तर विशेष बुलेटिन जारी गरी पछिल्लो अवस्थाबारे जानकारी दिनेछौँ ।’ विभागले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

विभागले उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्ने जनाएको छ । विभागले हिमाली क्षेत्रमा पर्यटकीय गतिविधिमा संलग्न व्यक्ति बढी जोखिममा पर्न सक्ने भएकाले सुरक्षित स्थानमा बस्न, सम्भव भएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र यात्रा गर्नुपरे सम्बन्धित निकायको समन्वयमा मात्र गर्न आग्रह गरेको छ ।

पहिराको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन विभागले आग्रह गरेको छ । मौसमविद् एवं त्रिविका पूर्व उपकुलपति प्राडा दीपक अर्यालले कोशी र गण्डकी, लुम्बिनी र बागमती प्रदेशको हिमाली र पहाडीक्षेत्रमा यात्रा गर्दा होसियारी अपनाउनुपर्ने बताउनुभयो । उहाँले भिषण हिमपात हुने सम्भावना भएकाले यसबाट जोगिन र तीन दिन पदयात्रामा बाहिर ननिस्कन, अत्यावश्यक काम परे मात्र घरबाहिर निस्कन आग्रह गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि तीन दिन सतर्कता अपनाउन आग्रह गरेको छ । कार्तिक ११ देखि कार्तिक १४ गते शनिवार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने एवं यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । प्राधिकरणले तीन दिनसम्म उच्च सतर्कता अपनाउन अपिल गर्दै सबै निकायलाई उद्धारमा जुटन आग्रह गरेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । यी प्रदेशका उच्चपहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिमपहिराको उच्च जोखिम पनि रहेको छ ।
प्राधिकरणले तीन दिनसम्म बाली नकाट्न आग्रह गर्दै ८ बुँदे निर्देशन पनि जारी गरेको छ । धानबाली काट्ने, भित्र्याउनेलगायतका कृषि कार्य कार्तिक १२ गते बिहीवार अगाडि नै गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले चक्रवातको सम्भावित प्रभावका कारण भोलि ११ गतेदेखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोशी नदी जलाधार तिनका उपजलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा भई नदीको जलसतह बढ्न सक्ने उल्लेख गर्दै मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् मद्दत माग्न १२३४ वा १०० वा १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

विभागका अनुसार आज बुधवार दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । राती देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

भोलि बिहीवार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा बादल लाग्ने थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

शुक्रवार देशभर अधिकांश समय बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।
शनिवार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।