त्रिवि दीक्षान्त समारोहका लागि अनलाइन फाराम भर्न समस्या, विद्यार्थी अन्योलमा



– उपकुलपति प्राडा थापा भन्नुहुन्छ ः के भएको रहेछ ? बुझौँला

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको ५३ औँ दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन फाराम भर्ने क्रममा समस्या देखिएपछि विद्यार्थी अन्योलमा परेका छन् । आवश्यक सबै कागजात पूरा हुँदासमेत फाराम सबमिट नहुने समस्या देखिएको विद्यार्थीको गुनासो छ । अनलाइनबाट फाराम भर्न नसकेपछि त्रिविमै पुगेर बुझ्दा पनि फाराम भर्ने वैकल्पिक व्यवस्था नहुँदा विद्यार्थी थप समस्यामा परेका छन् ।

समस्या वेबसाइटमा हो वा अन्य प्राविधिक कारणले भएको हो भन्नेबारे विश्वविद्यालयमै बुझ्दासमेत स्पष्ट जानकारी नपाएको स्नातक तहका लागि आवेदन दिने तयारीमा रहेकी सीता केशीले जानकारी दिनुभयो । समस्या समाधानका लागि त्रिविका परीक्षा नियन्त्रक प्राडा. लक्ष्मण पौडेललाई जानकारी गराउँदा पनि स्पष्ट जवाफ नपाएको र जवाफ दिने शैलीसमेत जिम्मेवार पदाधिकारीको व्यवहार अनुकूल नभएको भन्दै आलोचना हुन थालेको छ ।

सो विषयमा परीक्षा नियन्त्रक पौडेलसँग जानकारी लिँदा उहाँले प्रविधिको विषयमा केही गर्न नसक्ने टिप्पणी गर्दै भन्नुभयो– ‘हामीहरू विद्यार्थीको विषयमा लागेका छौँ । प्रविधिले धोका दिए के गर्ने ?’ अनलाइन फारम भर्न नपाएका विद्यार्थीले दीक्षान्तमा भाग लिने कि के गर्ने ? भन्ने विषयमा उहाँको जवाफ थियो ‘केहीको समस्या भएको होला । यस विषयमा अध्ययन गर्दै छाँै ।’

उपकुलपति प्राडा भोला थापाले यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । त्यस्तो समस्या भएको रहेछ भने परीक्षा नियन्त्रकसँग बुझ्ने जवाफ दिँदै उहाँले भन्नुभयो– ‘हामी त सकभर धेरै भन्दा धेरै विद्यार्थीलाई सहभागी गराएर दीक्षान्त समारोह गर्नेछौँ । यस्तो समस्या आएको भए समाधान गर्ने विषयमा सोचौँला ।’

सो विषयमा सम्बन्धित प्राविधिक कर्मचारीबाट समेत समस्याबारे स्पष्ट जानकारी नपाइएको भन्दै विद्यार्थीहरू थप समस्यामा परेको अर्का विद्यार्थी सुमन बोगटीले बताउनुभयो । ‘दशंैभन्दा अघिदेखि नै फाराम भर्न थालेको बिचमा वेबसाइट आफैँ बन्द थियो । दशंै बिदा भएर यस्तो भएको होला । खासमा समस्या के हो ? भन्ने अझै थाहा छैन्’ स्नातकोत्तर तहका लागि आवेदन दिने तयारीमा रहेकी भगवती उप्रेतीले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

‘दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीले आवश्यक कागजात पूरा गर्दा पनि अनलाइन फाराम भर्न नसक्ने, पनिकामै पुग्दा वैकल्पिक व्यवस्था नपाउने र समस्याको कारणसमेत थाहा नपाउने अवस्था देखिनुले हामीलाई कन्फ्यिुज बनायो’– फारम भर्न समस्या भोगिरहेका विद्यार्थीको भर्ना थियो ।

असोज १ गतेदेखि खुलेको फाराम बुझाउने म्याद सकिन अब दुई दिन मात्रै बाँकी छ । यसपटक दीक्षान्तका लागि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ७ वटा केन्द्र तोकिएका छन् । तर समस्या समाधान हुन सकेको छैन । पनिकाका अनुसार हालसम्म करिब साढे १२ हजार विद्यार्थीले फारम भरेको जनाएको छ ।