डोटीमा शिक्षितले नै खाँदैनन् हात्तिपाइलेको औषधी



विमल विष्ट, डोटी ।
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा हात्तिपाइले रोग बिरुद्धको अभियान चलाउन चुनौतिपूर्ण देखिएको छ । हात्तिपाइले बिरुद्ध औषधी खान शिक्षित वर्ग, कर्मचारी र टाठा बाठाले नै खान आनाकानी गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउन ग्रामिण क्षेत्रमा जति सजिलो छ त्यो भन्दा धेरै गुणा शिक्षितहरुको बाहुल्य रहने शहरबजार र सदरमुकाममा चुनौती देखिएको हात्तिपाइले रोग बिरुद्धका जिल्ला स्वास्थ्यका फोकल पर्सन तेजबिक्रम शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘औषधी प्रयोगात्मक परिक्षणका लागि ल्याइएकाले औषधी खानेबित्तिकै असर गर्ने आरोप लगाउदै खान नचाहने गरेका छन् ।’ बिगत चार बर्षदेखी लगातार जिल्ला स्वास्थ्यले हात्तिपाइले बिरुद्धको औषधी खुवाउन अभियान संञ्चालन गर्दै आएको अएको भएपनि यो चुनौती पुर्ण भएको बताईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्यांक अनुसार डोटीमा पहिलो वर्ष ७६, दोस्रो बर्ष ८०, तेस्रो वर्ष ८१ र चौथो वर्ष ७८ प्रतिशत जनसंख्यालाई मात्र हात्तिपाइले बिरुद्धको औषधी खुवाउन सकिएको छ ।

हात्तिपाइले बिरुद्धको औषधी खाए मरिन्छ भन्ने गत वर्ष हल्ला चलाएपछि यहाँका शिक्षित तथा अन्य स्थानियले औषधी खान नमान्ने गरेपनि फोकल पर्सन शाहीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गत वर्ष डोटीमा औषधी खादा मान्छे मरेको भन्ने हल्ला चलेपछि जानेबुझेका शिक्षित परिवारले समेत खान मानेनन् ।’

जिल्ला स्वास्थ्यका अनुसार डोटीमा हालसम्म १५ जना हात्तिपाइले रोगको लक्षण भएका बिरामी देखा परेका छन् । आगामी फागुन २१ गतेदेखि जिल्ला ब्यापीरुपमा हात्तिपाइले बिरुद्धको औषधी खुवाउने अभियान चलाउन थालिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले बताउनु भयो ।

त्यसका लागि झण्डै १२ सय स्वयम्सेवक अभियानमा परिचालन गरिने भएका छन् । डोटीमा ६ वर्षसम्म लगातार संञ्चालन गरिनेमा यो अभियानमा अब दुई बर्षमात्र बाँकी छन् । अभियानका क्रममा हात्तिपाइले रोग निवारणका लागि मान्यताप्राप्त डी.इ.सी. र जुका मार्न प्रयोग गरिने अल्वेन्डाजोल नामक औषधी खुवाउने बताइएको छ ।

२ बर्ष मुनिका, गर्भवति महिला र अति नै कमजोर भएका व्यतिलाई भने औषधी खुवाउन नहुने वरिष्ठ जनस्वास्थ्य प्रशासक बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘हात्तिपाइले रोगबाट बच्नलाई आफ्नो घर वरपरको बातावरण सफा राख्नु पर्छ ।’ जिल्ला स्वास्थ्यका एमजिडिबी डाक्टर गिरिश अवस्थीले हात्तीपाइले रोगले जिवन भर असक्त बनाउने भएकाले समयमै औषधी सेवन गर्नु पहिलो उपाय भएको बताउनु भयो ।

शरीरका नलीहरु सुन्नीने, हातगोडाहरुमा धर्सा देखिने, अण्डकोष सुन्निने,गिर्खाहरु आउने जस्ता लक्षण हात्तिपाइले रोगिहरुमा देखिने गरेको एमजिडिबी डाक्टर अवस्थीले बताउनु भयो । अण्डकोष सुन्निएका हात्तिपाईले रोगिहरुका लागि जिल्ला अस्पताल डोटीमा निशुल्क सल्यक्रियाको छ । डोटीमा अण्डकोष सुन्निएर बिरामी गम्भिर अवस्थामा पुग्दा पनि लाज मान्ने गरेका कारण अधिकांसले रोग लुकाएर बस्ने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्