काठमाडौं ।
नेपालको व्यावसायिक क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सोमवारबाट सुरु भएको छ । पहिलो दिनमै अपार दर्शकको उपस्थितले प्रतियोगिताको सुरुआत नै सानदारसमेत बन्यो ।
फ्लड लाइटमा सञ्चालन भएको उद्घाटन खेलमा उत्साहजनक दर्शकको उपस्थित रहेको थियो । हजारौं संख्यामा दर्शकको उपस्थितले आगामी एक महिनासम्म त्रिवि मैदानमा यसरी नै दर्शकले साथ दिनेछ भन्ने नेपाल क्रिकेट संघ (क्यान) ले अपेक्षा गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एनपीएल–३ को उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहबाट भएको थियो । उद्घाटन खेलमा गत वर्षको विजेता टोली लुम्बिनी लायन्स विजयी भएको थियो । लुम्बिनी लायन्सले गत वर्षकै उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।
यसपटकको प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आधिकारिकता प्रदान गरेपछि भएकाले विगतको प्रतियोगिताभन्दा विशेष रहेको हो । आईसीसीकै मान्यताले गर्दा यस सिजनमा विश्वकै स्टार खेलाडीहरूको आगमन भएकाले पनि यस सिजन विगतको भन्दा विशेष भएको हो । यो प्रतियोगिताको अर्को विशेषता डीआरएस (डिसिजन रिभ्यू सिस्टम) पनि हो ।
क्यानका अनुसार झन्डै २ करोड रुपैयाँको लागतमा जोडिएको डीआरएस सिस्टमको अम्पायरको निर्णय चित्त नबुझे खेलाडीले आउट भए नभएको आफैँले जाँच गर्न अपिल गर्न पाइने भएको छ । विगतका संस्करणहरूमा यो सिस्टम नहुँदा अम्पायरकै निर्णय मान्नु पर्ने बाध्यता रहेको थियो ।
डीआरएसकै कारण नेपाली क्रिकेटप्रेमीहरूले समेत पहिलोपटक नजिकबाट स्क्रिनमा हेर्न पाएका छन् । यसले एनपीएलमा दर्शकको उत्साह ह्वात्तै बढ्ने आयोजकको अपेक्षा छ ।
१ अर्ब भन्दा बढी आम्दानी
क्यानले प्रतियोगिताको अघिल्लो दिन आयोजना गरेको पत्रकार सम्मेलनमा यस संस्करणमा १ अर्ब ३० करोड रुपैयाँको हाराहारीमा आर्थिक कारोबार हुने दाबी गरेको छ । टिकट बिक्रीबाटै कमसेकम १० करोडभन्दा बढी कमाइने क्यानले विश्वास गरेको छ । पहिलो दिनको खेलको टिकट आधा घण्टामै सबै विक्री हुनुले पनि क्यानको दाबीलाई पुष्टि गरेको छ ।
पहिलो संस्करणको एनपीएलले नै एक अर्बको हाराहारीमा आम्दानी गरेको थियो । गत वर्ष दोस्रो सिजनमा एनपीएलले पहिलोकोभन्दा बढी रकम आम्दानी गरेको थियो । क्यानका कोषाध्यक्ष पदम खड्काले यस पटक टिकट बिक्री, प्रायोजन र अन्यबाट क्यानले करिब ७० करोडको आम्दानी गर्ने सम्भावना रहेको बताउनुभयो । त्यसमाथि फ्रेन्चाइजहरूको कारोबारसमेत गर्दा यस सिजनको कमाई कम्तीमा पनि डेढ अर्ब रुपैयाँ पुग्ने देखिएको छ ।
स्टार खेलाडीको आगमन
आईसीसीबाट आधिकारिक रूपमा मान्यता प्राप्त भएपछि यस सिजनको एनपीएलमा विश्वकै स्टार खेलाडीहरूले पनि चासो लिएका छन् । अस्टे«लियाका डेभिड वार्नर, दक्षिण अफ्रिकाका डेभिड मिलर, वेस्ट इन्डिजका आन्द्रे रसेल, इंग्ल्यान्डका मोइन अली, श्रीलंकाका एन्जेलो म्याथ्युज जस्ता अनुभवी र विश्व प्रसिद्ध खेलाडीहरूले यसपटकको खेलमा सहभागिता जनाउँदै छन् । जसले गर्दा नेपाली दर्शकहरूले त्रिवि मैदानमै यी खेलाडीहरूको खेल प्रत्यक्ष हेर्न पाइने भएको छ ।











प्रतिक्रिया