पर्वतमा बन्यो प्यारापिट सहितको खेलमैदान



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वत जिल्लाका बिकट गाउँहरुमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र ब्यबस्थित खेलमैदान भेटिन्छन । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै ब्यबस्थित बनाएका हुन्छन जनजाति बाहुल्य गाउँहरुमा ।

पर्वतको उत्तरी क्याङ्ग गाउँ बिकास समितिमा स्वदेश र बिदेशमा रहेका शुभचिन्तकहरुको सहयोगमा प्यारापिट सहितको बास्केटबल र भलिबल कोर्ट निर्माण भएको छ । स्थानिय शिखर युथ क्लबले कोरिया, बेल्जियम र हङ्गकङ्गमा रहेका मनकारीहरुको सहयोगमा खेल मैदान निर्माण गरेको क्लबले जनाएको छ ।

क्लबले ६ लाख ५० हजारको लागतमा ढुंगा बिच्छ्एर प्यारापिट निर्माण गरेको हो। निर्माण गरेको प्यारापिटमा झण्डै ५ सय अटाउन सक्ने क्षमता रहेको छ । उक्त कोर्ट र प्यारापिट निर्माणका लागि बेल्जियम बस्ने किरण पुन, गुमबहादुर पुन(सुबेदार),हङ्गकङ्ग बस्ने हेमबहादुर पुन लगायतले आर्थिक सहयोग गरेका छन । कुस्माबजारमा पनि सहयोग संकलन भएको जिल्ला खेलकुद बिकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङ्गले जानकारी दिए ।

निर्माण भएको खेलमैदान र प्यारापिटको समितिका अध्यक्ष तथा नेकपा(एमाले)का जिल्ला सचिबालय सदस्य गुरुङ्गले उद्घाटन गरे। उद्घाटन गर्दै अध्यक्ष गुरुङ्गले गाउँगाउँमा भलिबल र बास्केटबल खेल बिकासका लागि आफ्नो कार्यकालमा महत्वपुर्ण सहयोग गरेको बताए ।

यसैगरी सोही कार्यक्रममा स्थानिय किरण पुन र उनको परिवारले बाजुङ्ग आधारभूत प्राथमिक बिद्यालयलाई ४ रोपनी जग्गा दान गरेका छन। बिद्यालयका लागि आवश्यक जमिनको अभाव भएको अवस्थामा पुन परिवारको निशुल्क जग्गा दान गरेका हुन ।

पुनले जिल्ला खेलकुद बिकास समिति पर्वतलाई ५० हजार बराबरको खेलकुद सामाग्री समेत सहयोग गरेका छन । समितिलाई खेलकुद सामाग्री सहयोग गरेकोमा अध्यक्ष गुरुङ्गले धन्यबाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्