प्रहरी हेडक्वार्टरमै सुन तस्कर



  • एसएसपी खत्रीलाई कार्यालय छिर्नुअघि नै सीआईबीले पक्राउको प्रयास गरे पनि उनी उम्किएका थिए।

  • प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख नारायणप्रसाद सापकोटा र एयर अरेबियाका नेपाल प्रमुखसमेत अहिले अनुसन्धानको दायरामा।

  • सुन भएको ब्याग आएपछि भन्सार विभागका कर्मचारीले समेत चेक नगरी ग्रिन जोनको बाटो प्रयोग गर्न आग्रह गर्दै बाहिर पठाउने गरिएको खुलासा।

  • एसएसपी खत्रीले विशालनगरस्थित एक घरमा सुन ल्याउने र त्यसको कमिसन पनि त्यहीं बसेर लिने गरेको समेत रहस्य प्रहरीले पत्ता लगाएको छ।

दीपक रिजाल, काठमाडौं
३३ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई आइतबार पक्राउ गरेको छ। गत पुस २१ गते विमानस्थलबाट बाहिरिएको सुन ब्युरोले गौशालाबाट नियन्त्रणमा लिएको थियो। उक्त सुन काण्डमा संलग्न भएको आशंकामा खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयबाट तानेर प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको थियो।

उक्त सुन काण्डको सूक्ष्म अध्ययन गरिरहेको सीआईबीले सुन काण्डमा उनको संलग्नता पुष्टि भएपछि आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेर अनुसन्धान शुरू गरको छ। पक्राउ परेका सुन तस्कर गोपालबहादुर शाही, भरियाहरू दिलबन्धु थापा र सन्तोष काफ्लेको बयानका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।
आइतबार बिहान सीआईबीको टोलीले उनलाई प्रधान कार्यालय छिर्नुअघि नै पक्राउ गर्न खोजेको भए पनि विभिन्न कारणले उनलाई पक्राउ गर्न नसकिएको अनुसन्धानमा संलग्न एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

सुन नियन्त्रण गरेको झन्डै १० दिनपछि विमानस्थलबाट सुन बाहिरिनुमा एसएसपी खत्रीको समेत सहयोग रहेको आशंकामा प्रधान कार्यालयले उनलाई जगेडामा सरुवा गरेको थियो। अनुसन्धान गर्ने क्रममा खत्रीले लामो समयदेखि शाहीसँग सम्पर्क गर्ने गरेको र सुन समातिनु अघिल्लो दिनसमेत उनीहरूबीच ४ पटक कुराकानी भएको टेलिफोन रेकर्डबाट पत्ता लगाएको भए पनि ब्युरोले थप प्रमाणको अभाव भन्दै उनलाई अनुसन्धानको दायरामा ल्याएको थिएन। शुक्रबार साँझ उक्त सुन काण्डमा एसएसपी खत्रीको संलग्नता पुष्टि भएपछि आइतबार प्रधान कार्यालयबाटै उनलाई पक्राउ गरेर ब्युरो पु¥याइएको थियो।

ब्युरोले सुन तस्करी काण्डमा संलग्न रहेका अन्य व्यक्तिको समेत तीव्र खोजी गरेको र विमानस्थलका सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख नारायणप्रसाद सापकोटा र एयर अरेबियाका नेपाल प्रमुखसमेत अहिले अनुसन्धानको दायरामा तानिएको ती अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

एसएसपी खत्रीले सुन तस्करले सुन ल्याउने विमान आउने बेलामा त्यहाँ रहेका आफ्ना निकटका प्रहरी जवान तथा अधिकृतहरूलाई खटाउने र सुन भएको ब्याग आएपछि भन्सार विभागका कर्मचारीले समेत चेक नगरी ग्रिन जोनको बाटो प्रयोग गर्न आग्रह गर्दै बाहिर पठाउने गरेको तथ्यसमेत सीआईबीले पत्ता लगाएको छ।

एसएसपी खत्री र सुन तस्करबीच स्काइप कलसमेत हुने र खत्रीले विमानस्थलको सेटिङ मिलेपछि मात्रै सुन ल्याउन आग्रह गर्ने गरेको समेत अनुसन्धानका क्रममा पत्ता लागेको ती अधिकारीले जानकारी दिए। एसएसपी खत्रीले विशालनगरस्थित एक घरमा सुन ल्याउने र त्यसको कमिसन पनि त्यहीं बसेर लिने गरेको समेत रहस्य प्रहरी पत्ता लगाएको छ।

यता सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले एसएसपी खत्रीलाई ३३ किलो सुन काण्डमा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको जानकारी दिनुभयो। सीआईबीले सुनकाण्डको कनेक्सन खोज्ने क्रममा एसएसपी खत्रीलाई पक्राउ गरेपछि अन्यको संलग्नता देखिए पनि पुष्टि हुने आधारलाई खोजिरहेको ती अधिकृतले बताए। ‘अनुसन्धान अहिले जसरी भइरहेको छ यसमा कोको तानिन्छन् हेर्दै जानुहोला।’ –ती अधिकृतले भने।

विमानस्थलमा गएका एसएसपी खत्री त्यसअघि लागूऔषध केन्द्रीय अनुसन्धान ब्युरो, अपराध महाशाखा, महानगरीय आयुक्तको कार्यालयलगायत आकर्षक ठाउँमा बसेका थिए। उनी आफू नेपाल प्रहरीको रोलमोडल भएको बताउँदै आएका थिए।
विमानस्थलमा कार्यरत रहँदा कारबाहीमा पर्ने एसएसपी खत्री तेस्रो उच्च प्रहरी अधिकारी हुन्। यसअघि विदेशी मुद्रा तस्कारीमा एसएसपी रविराज श्रेष्ठ र डीआईजी गोपाल भण्डारीको जागिर गइसकेको छ। सुन काण्डमा संलग्न भएर जागिर धरापमा परेका खत्री पहिलो सुन तस्कर हुन्।

प्रतिक्रिया दिनुहोस्