हतियार काठमाडौं भित्रिरहेको खुलासा



कुमार श्रेष्ठ, बाँके
भारतबाट पेस्तोल ल्याएर काठमाडौं पु¥याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ। नेपालगन्ज–८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो।

यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ। लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो। पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो।

भारतको रिसियाबाट पेस्तोल र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्नेे खुलासा गरेका छन्। स्रोतका अनुसार, पठानको समूहमा अझै आधा दर्जन रहेका छन्। भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पु¥याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सीमावर्ती बजार रुपैडिहाबाट हिँड्दै नाका पार गरिरहेका पठानलाई शंका लागेपछि ब्युरोको टोलीले जाँच गरेको थियो। नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले ब्राउनसुगरको कारोबार बढेपछि भारतबाट आउनेलाई सूक्ष्म जाँच गर्ने गरेको छ।

बाँके प्रहरीले पठानलाई हतियारसहित पक्राउ गरेको पुष्टि गरे पनि अनुसन्धानका क्रममा रहेको जनाएको छ। ‘भारतबाट नेपालगन्ज हुँदै काठमाडौंसम्म साना हतियार सप्लाइ गर्ने गिरोह नै सक्रिय रहेको खुलेको छ’, प्रहरी स्रोतले भन्यो– ‘नेपालगन्ज र भारतमा रहेका उनीहरूलाई तान्नका लागि टोली परिचालन गरेका छौं।’

नेपालगन्ज नाकाबाट ब्राउनसुगर भित्रिएर काठमाडौं, पोखरालगायतका ठूला शहरमा जाने गरेको घटनाक्रमले देखाइसकेको छ। पछिल्लो घटनाले भने साना हतियारसमेत यही नाकाबाट जाने गरेको देखाएको छ। काठमाडौंमा क–कसले यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सोधीखोजी थालिएको छ। यस्ता साना हतियार ‘डन’ हरूले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्