आईजीपी बन्न कुदाकुद


दीपक रिजाल, काठमाडौं
पाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि दुवै संगठनमा नयाँ प्रहरी प्रमुख को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ।

तीस वर्षे सेवा अवधीका कारण नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका प्रमुख दुर्जकुमार राईले सेवाबाट अवकाश लिने भएपछि नयाँ प्रहरी प्रमुख को हुने भन्ने विषयले दुवै संगठनमा चलखेल बढेको छ।

नेपाल प्रहरीमा अब को नयाँ प्रहरी प्रमुख बन्ने भन्ने विषय अहिले चर्कोरूपमा बहसमा आएको छ। नेपाल प्रहरीमा आईजीपी अर्यालसहित ७ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूले एकैपटक अवकाश पाउने भएपछि हाल प्रहरी नायब महानिरीक्षक रहेका मध्येबाट आईजीपी बनाउनुपर्ने बाध्यता रहेको छ।

उता सशस्त्र प्रहरी बलमा भने भावी नेतृत्वका लागि त्यति विवाद नभए पनि केही एआईजीहरू आईजीपीको लविङमा लागेका छन्। सशस्त्र प्रहरी बलमा एक नम्बरमा रहेका सिंहबहादुर श्रेष्ठ नयाँ प्रमुख बन्ने देखिएका छन्। तर दुई र तीन नम्बरमा रहेका प्रेमकुमार शाही र प्रकाश ओझा पनि आईजीपीको लविङमा लागेका छन्। अहिलेसम्म विवाद भित्रीरूपमा देखिए पनि सो संगठनभित्रको विवाद बाहिर आएको खासै देखिँदैन। सो संगठनका एक उच्च अधिकारी भन्छन्– ‘सरकारले अहिलेसम्म जेष्ठताको आधारमा नै संगठन प्रमुख छान्ने गरेकाले खासै विवाद देखिँदैन तर प्रतिस्पर्धीहरूले आफू पनि संगठन प्रमुखको दाबेदार रहेको भन्दै लविङ गर्नु ठूलो कुरा होइन।’

यसअघि अनिवार्य अवकाश पाउनुभन्दा १ महिनाअघि बिदा बस्ने प्रचलन रहेको भए पनि अहिले भने फागुन २ गतेबाट अनिर्वाय अवकाश पाउने दुवै संगठनका प्रमुखले बिदा लिएका छैनन्। संक्रमणकाल रहेको भन्दै दुवै संगठनका प्रमुखहरूले बिदा नबस्ने बताएका छन्। यता सबैभन्दा बढी विवाद नेपाल प्रहरीमा भएको छ। नेपाल प्रहरीमा हाल डीआईजीका रूपमा कार्यरत रहनुभएका नवराज सिलवाल जेष्ठताको हिसाबले एक नम्बरमा हुनुहुन्छ। उहाँसँगै वरीयताको तेस्रो नम्बरमा रहनुभएका जयबहादुर चन्दले भावी नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गरेपछि सो संगठनको विवाद अहिले छताछुल्लरूपमा बाहिर आएको छ।

सो संगठनमा नयाँ संगठन प्रमुखको दाबेदारका रूपमा अर्का दुई डीआईजीहरू प्रकाश अर्याल र बमबहादुर भण्डारी पनि रहनुभएको छ। वरिष्ठताको आधारमा दुई नम्बरमा अर्याल हुनुहुन्छ भने चौथो नम्बरमा भण्डारी रहनुभएको छ।

यसअघिका प्रहरी महानिरीक्षक कुवेरसिंह राना संगठन प्रमुख बन्ने बेलामा पनि अहिलेको जस्तै विवाद भएको थियो। सो बेला एक नम्बरमा रहेका एआईजी राना र तीन नम्बरमा रहेका भीष्म प्रसाईंबीच नयाँ संगठन प्रमुख बन्ने विषयमा लामो विवाद भए पनि सरकारले एक नम्बरमा रहेका रानालाई नै नेपाल प्रहरीको प्रमुखका रूपमा चयन गरेको थियो।

संगठन प्रमुख हुन कसलाई रहर हुँदैन र? दाबेदारका रूपमा रहेका डीआईजीहरूले लविङ गर्नुलाई अन्यथा लिन नहुने प्रहरीका एक अधिकृतको कथन रहेको छ। नेपाल प्रहरीमा नयाँ संगठन प्रमुख बन्नका लागि चारै जना डीआईजी अहिले एकले अर्कोलाई खुइल्याउने गरी मिडियाबाजी गर्नमा तल्लीन रहँदै आएका छन्। दुवै संगठनमा अब आउने प्रहरी प्रमुखले १ वर्षमात्रै काम गर्न पाउनेछन्। तीस वर्षे सेवा अवधिका कारण दुवै संगठनका प्रमुखले १ वर्ष संगठन प्रमुख भएपछि अनिवार्य अवकाश पाउनेछन्।