ओझेलमा परेको माधवनाराण व्रतको फोटो प्रर्दशनी



भक्तपुर, १८ माघ । भक्तपुरको पवित्र धार्मिक स्थल ख्वरे (हनुमानघाट) मा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म एक महिने माधवनारायण व्रत आयोजना हुंदै आई रहेको छ ।

काठमाडौंको सांखु साली नदीमा हुने श्री स्वस्थानी व्रत जस्तै भए पनि यसका फरक विशेषताहरु छन । पुरुष व्रतालुहरु व्रत बस्ने , पल्टिमार्दै करीब २ किलोमिटर सम्मको धार्मिक यात्रा पुरा गर्नु पर्ने र अनेकन कठोर यात्रा गर्नु पर्ने यो व्रत प्रचार प्रसारको अभावमा भक्तपुरवासीका बीच मात्र सिमित रहेको छ ।

यस व्रत बारे व्यापक प्रचार प्रसार गरी आम नेपाली जनताको सहभागितालाई बढाउन फोटोग्राफर रजन कुस्लेले विगत ३ वर्ष देखि प्रत्येक वर्ष आफूले ३–४ वर्ष लगाएर खिचिएका व्रत सम्बन्धि फोटोहरु लगातार भक्तपुरको दरवार स्क्वायरमा प्रदर्शन गर्दै आएको छ । यस वर्ष भक्तपुर नगर पालिका र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा माघ १५ गते देखि शुरु भएको फोटोग्राफर रजनको एकल फोटो प्रर्दशनी माघ १९ सम्म चल्ने छ ।

यस प्रदर्शनीमा २९ वटा माधवनारायण व्रत सम्बन्धि गतिविधिका फोटोहरु राखीएका छन भने फोटोग्रापर रजन आफैले परिकल्पना गरी बनाएका ९ वटा फोटोहरु विशेष आकर्षण बनेको छ । भक्तपुरको जात्रापर्वहरुलाई केन्द्र विन्दु बनाएर खिचिएका दुर्लभ फोटोहरुको प्रदर्शनी गर्दै आएका रजनले माधवनारायण व्रतका गतिविधिलाई समेटिएर फोटो फिचरको किताब समेत प्रकाशन गरेका छन । व्रतालुहरुको सहयोगमा प्रकाशित सो किताब रजनको पहिलो प्रयास भए पनि तारिफ योग्य छ ।

स्मरण रहोस् विभिन्न धार्मिक ग्रन्थ अनुसार नेस ७२२ देखि माघ धलं नामक व्रतधर्म माधवनारायण अनुष्ठान गरी माघ पूर्णिमा कथा सुन्ने प्रचलनको शुवाट भएको हो । शुरुमा भक्तपुरका राजउपाध्याय ब्राम्हणहरुले चलाउंदै आएको अनुष्ठान पछि ने।स।८४९ मा रणजित मल्लले आफ्ना छोराहरुलाई यस व्रतमा संलग्न गराई माधवनाराण, लक्ष्मी र सरस्वतीको ढुंगाको मूर्ति हनुमानघाटमा स्थापना गरी उक्त व्रतधर्म भक्तपुर उपाकर्म गुठीबाट आलोपाली चलाउंने परम्परा भएको हो ।

प्रतिक्रिया दिनुहोस्