मोटरसाइकल ठोक्किदा ३ को मृत्यु



भक्तपुर, (नेस)
भक्तपुरको चाँगुनारायण नगरपालिका १ पिखेलमा शुक्रबार दिउँसो १२ बजे दुवै तर्फबाट तिव्र गतिमा आएका दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

बा४३ प ८१०८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा४०प ३३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बा४३प ८१०८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका खोरिया गाउँका वर्ष ३६ का बाबुलाल तामाङको घट्नास्थल मै मृत्यु भएको हो। महानगरीय प्रहरी प्रभाग व्यासीका प्रहरी नायव निरीक्षक रत्न थापाले अर्का मोटरसाइकल चालक सोही नगरपालिकाको पिखेल बस्ने वर्ष २१ को विवेक खत्री भने गम्भिर घाइते भएको बताउनुभयो।

त्यसै गरी दूधपाटीबाट काठमाडौं फर्कंदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

सल्लाघारी सैनिक महाविद्यालय अगाडी बा २ ख ९७२१ नम्बरको मिनि ट्रकले दुईवटा मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा बा४३प ४५७६ नम्बरको मोटरसाइकल चालक काठमाडौं कालिमाटी बस्ने वर्ष ४५ का सरोज बानियाँ र बा१४प ५२८८ नम्बरका मोटरसाइकल चालक कालीमाटीकै वर्ष ४४ का अनिलकृष्ण ताम्राकारको घटनास्थलमै मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरी सवारी चलाएका मिनिट्रक चालक भक्तपुर चाँगु बस्ने वर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हवल्दार दिपेन्द्र शााहीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्