टाउको र सिङका लागि हरिणको चोरी सिकारी



गोकुल घोरसाइने, बारा
मासु र छालाका लागि हरिणको चोरीसिकार हुने गरेको त सबैले थाहा पाएकै घटना हो। देशका विभिन्न क्षेत्रमा अहिले पनि जंगली हरिणको अवैध सिकार गरेर मासु खाने चलन छ। तर पछिल्लोपटक बारामा टाउकोका लागि पनि हरिणको चोरी सिकारी गर्ने समूह सक्रिय भएको पाइएको छ।

जिल्लाको भलुहिखोर रेन्जपोस्ट नजिकको जंगलमा गत पस २१ गते टाउको काटेर बेपत्ता परेको एउटा वयस्क हरिणको गिँड फेला परेपछि वन सुरक्षाकर्मीले टाउको र सिङका लागि पनि चोरीसिकारी गर्ने समूह सक्रिय रहेको अनुमान गरेका हुन्। घाँस दाउरा गर्न पुगेका स्थानीयले जानकारी दिएपछि प्रहरीसहित पुगेको वन कर्मचारीको टोलीले टाउको बेपत्ता पारेर फ्यालिएको अवस्थमा करिब ६५ केजी तौलको गिँड फेला पारेको थियो। ‘पहिले पहिले छाला र मासुका लागि मात्र हुन्थ्यो’, सेक्टर वन कार्यालय तमागढीका सहायक वन अधिकृत धर्मेन्द महतोले भने– ‘भलुहिखोरमा भटिएको हरिणको गिँडले टाउकोको लागि पनि सिकार गर्ने गरेको देखियो।’ उनले स्थानीय तस्करहरू नै हरिणको चोरीसिकारमा संलग्न रहेको र इलाका प्रहरी कार्यालय कोल्हवीमार्फत् समूहको खोजी भइरहेको पनि जानकारी दिए।

प्रयोग गर्नेहरूको संख्या बढेको र महँगोमा बिक्री हुन थालेपछि हरिणको सिकार गरेर टाउको तस्करी गर्ने क्रम पनि वृद्धि भएको हो। शहरबजारका घरानाले घरका ढोका र गेटमाथि सजाएर राख्न मोटो रकम खर्चेर सिङसहितको टाउको खरिद गर्ने गरेका छन्। स्थानीयका अनुसार टाउकोको आकारअनुसार ५ देखि १० हजार रुपियाँसम्ममा खरिद बिक्री हुने गरेको बताइएको छ। ‘जति बढी हाँगा निस्केको हुन्छ उति नै बढी रकम तिर्छन्’, निजगढका एक स्थानीयले भने– ‘साना भए कम्तीमा पनि ५ हजार रुपियाँमा बिक्री हुन्छ।’ उनले सिकारपछि सिङसहित सुकाएर तस्करहरूले शहर बजार पुर्याएर बिक्री गर्ने गरेको सुनाए। ओसारपसार गर्न सजिलो र मोटो रकम पाइन थालेपछि तस्करहरू पछिल्लो समय हरिणको चोरीसिकारी र टाउको तस्करीमा आकर्षित बनेको उनको भनाइ छ।

जिल्लाको चारकोसे झाडी जंगल छेउका बस्तीमा छाला र मासुका लागि पहिलेदेखि नै चारीसिकारी हुने गर्दै आएको भए पनि टाउकोका लागि हरिण मारिएको यो पहिलो घटना भएको वन कर्मचारीले बताएका छन्। भलुहिखोर, भरतगंजसिगौल, रतनपुरी, अमलेखगन्ज, डुमरवाना, पिलुवा र ककडीस्थित चारकोसे झाडीको जंगलमा मासुका लागि हरिणको चोरी सिकार हुने गरेको हो।
जंगल आसपास बसोबास गर्ने तामाङ, थारु र कछडिया समुदायमा चोरी सिकारी समूह सक्रिय रहेको र केहीले मासुको लागि पेशेवर रूपमा हरिण, जरायो, बँदेलजस्ता वन्यजन्तुको चोरीसिकार गर्ने गरेका छन्। यस क्षेत्रमा वन्यजन्तुको मासु प्रति केजी ४ सय र छाला १ हजार रुपियाँसम्ममा बिक्री हुने गर्छ। वन्यजन्तुको सिकारी गर्ने समूह सक्रिय रहेको भए पनि साधनस्रोतको अभावमा नियन्त्रण गर्न समस्या परेको सहायक वन अधिकृत महतो बताउँछन्।

चोरीसिकारीको सूचना पाउँदा पाउँदै पनि समातेर कारबाही गर्न नसकेको महतोले बताए। उनले चोरीसिकारी अन्त्य गर्न जंगल छेउछाउ बसोबास गर्ने विपन्न समुदायको आय आर्जन र चेतना अभिवृद्धिसँगै वन सुरक्षाकर्मीलाई समेत पर्याप्त स्रोतसाधन उपलव्ध गराउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्