मुलुकमा कृषि उद्योगको सम्भाव्यता



(प्रदीप उप्रेती) नेपालको आधाभन्दा बढ्ता जनसंख्या कृषि क्षेत्रमा लागेको तथ्य हामी कसैको सामु पनि लुक्न सकेको छैन । तर कृषि क्षेत्रका विकासका कुराहरू केवल निश्चित समयका लागि तयार पारिएका सरकारी दस्तावबजहरूमा मात्रै सीमित भएर बस्ने गरेको पाइन्छ । निरन्तर सरकार परिवर्तन भइरहने जस्ता कार्यले मुलुकको आर्थिक विकासले समेत आवश्यक गति लिन नसकेको हो । परिणामस्वरुप कृषि क्षेत्रको विकासका लागि स्पष्ट खाकासहितको योजना तथा नीति हाल एक्काइसौं शताब्दीसम्म पनि बन्न सकेको छैन । संसारका विभिन्न मुलुकले कृषिमा आधारित उद्योगको विकास गरी आफ्ना मुलुकलाई आर्थिक सम्पन्नताको बाटोमा हिँडाएको भए तापनि हाम्रो मुलुकमा भने कृषि क्षेत्र जहिले पनि अन्य क्षेत्रको दाँजोमा निकै पछाडि पर्न गएको पाइन्छ ।

अतः परम्परागत ढाँचामा आधारित रहेको कृषि प्रणालीलाई क्रमशः विस्थापित गर्दै कृषिमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्नु नै वर्तमान समयको माग हो भन्न सकिन्छ । यसै तथ्यलाई मनन गर्दै नेपाल सरकारले पनि कृषियोग्य जमिनको एकीकरण, उन्नत प्रविधि र पूर्वाधार विकास, विशिष्टीकृत व्यवसायीकरण तथा कृषिलाई औद्योगीकरण गर्ने मुख्य हेतुले आर्थिक वर्ष २०७३⁄०७४ देखि नै लागू हुने गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नामक कार्यक्रम लागू गर्न विशेष जोड दिइएको छ । साथै यी कार्यक्रम सम्पन्न गर्न आगामी १० वर्षका लागि १ खर्ब ४४ अर्ब रुपियाँ विनियोजन गर्ने लक्ष्यसमेत लिएको पाइन्छ । यस्ता प्रवृत्तिका कार्यक्रमलाई अझ सशक्त बनाएर हाल कायम रहेको खाद्यान्न संकटलगायत अन्य समस्यासमेत समाधान गरी कृषिमा रहेको परनिर्भतालाई हटाउनुपर्ने देखिन्छ । आत्मनिर्भर बन्नका लागि यस्ता महत्वाकांक्षी कार्यक्रमले विशेष महत्व राख्ने देखिन्छ ।

कृषि क्षेत्रलाई पकेट क्षेत्रमा विकास तथा विस्तार गर्नु अत्यन्तै जरुरी भइसकेको छ । अर्थात् जुन स्थानमा जे–जस्तो सम्भावना रहन्छ, त्यसैको उत्पादनमा जोड दिने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ । किनकि यस्ता महत्वाकांक्षी योजनाहरूले मात्रै मुलुकमा हाल कायम रहेको परनिर्भरता केन्द्रित अर्थतन्त्रबाट क्रमशः आत्मनिर्भर केन्द्रित अर्थतन्त्र निमार्ण गर्न सघाउ पुग्ने देखिन्छ । यसो गर्न सकेमा कृषि क्षेत्रमा आधारित उद्योगहरूबाट आशातीत सफलता प्राप्त गरी आयातमूलक अर्थव्यवस्थालाई प्रतिस्थापन गर्न मद्दत मुग्छ । अनि मात्र निर्यातमूलक अर्थव्यवस्था अंगाल्ने अवस्थाका मुलुकहरूको कोटीमा नेपाल पनि पुग्न सक्न ।

प्रशस्त सम्भावना बोकेका कृषिजन्य वस्तुहरूलाई उद्योगको स्वरुप दिन त्यति ध्यान पुगेको पाइएन । परम्परागत आधारमा कृषि क्षेत्रलाई निरन्त्तरता दिने हाम्रा पुराना मान्यता तथा सोचहरूलाई समयको मागअनुसार अवश्य पनि बदल्न सक्नुपर्नेछ । नवीनतम सोचको प्रतिफल नै कृषि उद्योगको सम्भाव्यता हो भन्न सकिन्छ ।

यस्ता सोचाइलाई विकास गर्दै लग्न सकेको खण्डमा रोजगारीका लागि भौंतारिँदै विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनेछ । रोजगारीका नयाँ अवसरहरू स्वतः मुलुकभित्र नै सिर्जना हुन जाने देखिन्छ । कृषि क्षेत्रले विस्तारै उद्योगको रुप धारण गर्दै जाने हो भने बर्सेनि खाद्यान्न, मासु–माछा, दुग्धजन्य पदार्यदेखि अन्य सुगन्ध, रबर, आदि अत्यावश्यक वस्तुहरू आयात गर्नका लागि बाहिरिने सयौं करोडको वैदेशिक मुद्राको बचत हुन जान्छ । र, सो रकम विकास निर्माणका अन्य क्षेत्रमा लगाउने हो भने मुलुकमा आर्थिक विकासका सम्भावनाका ढोकाहरू खोल्नमा कृषिसम्बन्धी उद्योगहरूले महत्वपूर्ण भूमिका खेल्नछ ।

राम्रा उत्पादन गरी राम्रा प्रतिफल प्राप्त गर्नका लागि भने माटोको गुणस्तरमा अवश्य पनि सुधार आउनै पर्ने हुन्छ । गुणस्तरीय माटोको लागि सामान्यतया खनिज पदार्थ ४५ प्रतिशत, प्रांगारिक पदार्थ ५ प्रतिशत, वायुको मात्रा २५ प्रतिशतका साथै पिना २५ प्रतिशत भएको हुनुपर्ने यस क्षेत्रसँग सम्बन्धित विज्ञहरूको धारणा रहेको पाइन्छ । तर दैनिकरुपमा बढ्दो शहरीकरण, औद्योगीकरणका साथै सवारीसाधनहरूको बढी प्रयोगले वातावरण प्रदूषित हुँदै गएको छ । यस्ता वातावरण प्रदूषण कृषि क्षेत्रका लागि घातकसिद्ध हुन सक्छ । यस्ता गतिविधिले वातावरणका साथै मानवीय क्षति हुने प्रचूर सम्भावनालाई पनि नकार्न सकिँदैन ।

यसबाहेक बर्सेनि जलवायु परिवर्तनसँगै खानेपानीको मुहान क्रमशः सुक्दै गई भूमिगत सिंचाइमा समेत समस्या पर्दै गएको छ । विभिन्न कारणले प्रदूषित वातावरणका कारण वायुमण्डलसमेत तीव्ररुपमा प्रदूषित हुँदै गइरहेको छ । यस्ता प्रदूषणका कारण वाष्पीकरण हुँदा अम्लीय वर्षाको सम्भावना रहन्छ । सो अम्लीय वर्षाका कारण कृषिजन्य स्वस्थ माटोसमेत प्रदूषित हुन जाने देखिन्छ ।

विविध कारणबाट हुने वातावरणीय प्रदूषणले अन्ततः निश्चय पनि माटोकै उर्वरा शक्तिमा ह्रास आई उत्पादनमा समेत प्रतिकूल असर पर्न जान्छ । साथै उत्पादित कृषिजन्य सामग्रीले जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्छ । त्यसैले माटोलाई प्रदूषित हुनवाट रोक्नु नितान्त जरुरी भइसकेको छ । माटो प्रदूषित रोक्ने प्रमुख उपाय भनेको बढीभन्दा बढी प्रांगारिक मलको प्रयोगमा जोड दिनु नै हो । स्वस्थ माटोबाट उत्पादित गुणस्तरीय उत्पादनले नै नेपालको कृषि उद्योगलाई अन्य क्षेत्रको उद्योगसरह माथिल्लो श्रेणीमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेमा दुई मत हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्