निको नहुने भ्रष्टाचारको रोग



(केशव अधिकारी) भ्रष्टाचार आफैँमा एउटा मानसिक रोग हो । जसरी लागूपदार्थको दुव्र्यसनीले त्यसको नशा लागेपछि बरु आफू मर्ला तर त्यसलाई छोड्न सक्दैन, त्यसै गरी भ्रष्टाचारको रोग लागेको मानिसले पनि हत्तपत्त भ्रष्टाचार गनै कामलाई छोड्न सक्दैन । कुनै पनि देशबाट भ्रष्टाचार नियन्त्रण गर्ने नै हो भने भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय अथवा मृत्युदण्डले हिंसाको भाव बढाउँछ भन्ने लाग्छ भने आजन्म कैदको व्यवस्था गर्न सकियो भने भ्रष्टाचार निर्मूल नभए पनि कम भएर जान सक्छ । समाजमा जरा गाडेर दशकौँदेखि बसेको रोगले एकै पटक सिनित्तै हुने गरी नछोडे पनि कम हुँदै जान थाल्नु पहिलो सकारात्मक लक्षण हो । पहिला सकारात्मक लक्षणबाटै रोग निको हुँदै जाने हो । एउटा घरको परिपक्व अभिभावकले नै अरू सबैलाई ढाँटेर एक्लै खान खोज्छ भने अरू सदस्यहरूले पनि त्यही नीति अपनाउन खोज्नु कुनै अपराध होइन ।

हाम्रो देशमा कुनै ठूलो सार्वजनिक पदमा आसीन हुन पुगेको जोसुकैले पनि देशको उन्नतिको बाटो कताबाट आरम्भ गर्ने भन्ने सोचाइ बनाउनुअगावै अब जनताले नदेख्ने गरी कहाँ वा कुन प्वालबाट भ्रष्टाचारको आरम्भ गर्ने भनेर थाल्छ । यदि उसले भ्रष्टाचार गरेको खुलासा भयो र प्रमाणितसमेत हुन पुग्यो भने पनि उसलाई सजायँ दिइने भनेको ससुराली जाँदाको ज्वाइँको जत्तिको सुविधासम्पन्न तरिकाले सजाय दिइने गरिन्छ । यसरी भ्रष्टाचारीलाई नाम मात्रको सजायले गर्दा उसको मनोबल बढेर जान्छ । छोटो समय ससुराली बसाइको जस्तो आनन्ददायक जेलको बसाइ र जेलमुक्त भइसकेपछिको कालखण्डमा हासिल भएको उच्च ओहदाको जागिरले उसको मानसिक सोच सधैँ उच्च नै बनाइराख्छ ।

भ्रष्टाचारी भनेको जोसुकै व्यक्ति होस् ऊ वास्तवमा अपराधी व्यक्ति हो । अपराधीलाई अपराधअनुसारको सजाय दिन सकिएन भने भोलि त्यो आपराधिक सोच अरू धेरै मानिसको मनभित्र बलियो बन्न पुग्छ र उनीहरूले पनि सरकारी उच्च पद हासिल गरिसकेपछि खुरुखुरु भ्रष्टाचार गरिरहन्छन् । विगतका कालखण्डमा नेपाली कांङ्ग्रेसका नेता मानिने खुमबहादुर खड्काले मन्त्री भएका बेलामा भ्रष्टाचारको अभियोग लागेर केही समयको ससुराली बसाइसरहको जेल यातना भोगेर जेलमुक्त हुँदै गरेका बेला उनका केही समर्थकहरू गएर माला, अबिर गर्दै यो जित कसको खुमबहादुरको भन्ने नाराका साथ उनकै निवासतिर लिएर आउँदै गरेको दृश्य देख्न पाइएको थियो । त्यस बेला उनको त्यो फूर्ति देख्दा खुमबहादुर कतै संसारै जितेर पो नारा लाउँदै र अबिरजात्रा गरेर आएका हुन् कि भन्ने सोचाइ आमदर्शकको बनेको थियो । खुमबहादुर खड्कालाई गरिएको त्यो स्वागतले भोलि अर्को खुमबहादुरलाई पनि प्रभाव पारेरै छोड्ने गर्दछ । जसको परिणाम के हुन्छ भने, भ्रष्टाचार संस्थागतरूपमा विकास भएर जान थाल्छ ।

आज सरस्वतीको मन्दिर मानिने शैक्षिक संस्थादेखि लिएर मूर्दा जलाउने मसानघाटसम्मकै हरेक क्रियाकलाप र त्यसमा पनि सरकारी क्षेत्रले बढी बदनामी कमाएको छ । आजको युगमा कसैले निःस्वार्थ सेवा गरेको खबर हामी कसैका लागि पनि पत्याउने खालको लाग्न छोडेको छ । यो सबै हुनुको पछाडि देश चलाउनेदेखि लिएर लास जलाउनेसम्मका मानसिक लालचहरू ह्वात्तै बढेर गएका छन् । त्याग र समर्पणको भावना क्रमशः बिलाउँदै गएर शून्य विन्दुमा झर्दै छ । जबसम्म यो रोग डरले वा करले जसरी भए पनि केही मत्थर भएर न्यून विन्दुतिर झर्दै जाँदैन अनि अगुवाले नै समर्पण र त्यागको भाव दर्शन गराउन सक्दैन, तबसम्म भ्रष्टाचार नियन्त्रण गर्न कम्मर कसेर लाग्छु भन्नु साउनको भ्यागुतो कराउनुसरह हो । भ्रष्टाचारको रोग क्यान्सर, एड्सभन्दा कता हो कता खतरा रोग हो । नेपालको सन्दर्भमा यो रोग कहिल्यै निको नहुने असाध्य रोगजस्तै साबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्