इजिप्टलाई स्तब्ध पार्दै अर्जेन्टिना क्वाटरफाइनलमा


काठमाडौं । 

फिफा विश्वकप २०२६ को अन्तिम १६ को सनसनीपूर्ण खेलमा इजिप्टलाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश  गरेको छ । 

एटलान्टा स्टेडियममा भएको खेलको ६७ औँ मिनेटसम्म २-० ले पछि पर्दै बाहिरिने सँघारमा पुगेको साविक विजेता अर्जेन्टिनाले खेलको अन्तिम ११ मिनेटमा विश्व फुटबललाई नै स्तब्ध पार्ने गरी अविश्वसनीय पुनरागमन गर्दै र इजिप्टमाथि जितको नतिजा निकाल्यो । खेलको १५औँ मिनेटमै यासेर इब्राहिमको सनसनीपूर्ण हेडरमार्फत अप्रत्याशित अग्रता लिएको इजिप्टका लागि गोलरक्षक मोस्तफा शोबिर कुनै चट्टानभन्दा कम थिएनन् । उनले विश्वका महान खेलाडी लियोनेल मेस्सीको पेनाल्टी मात्रै रोकेनन्, एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका गोल निश्चित मानिएका प्रहारहरूलाई लगातार विफल पार्दै अर्जेन्टिनाको क्याम्पमा छटपटी बढाएका थिए ।

खेलमा दोस्रो हाफको सुरुवातमै मोहम्मद सलाह र हाइसेम हसनको उत्कृष्ट रणनीतिमा जिजोले गोल गरे पनि फाउलका कारण रद्द हुँदा अर्जेन्टिनाले केही राहत महसुस गरेको थियो । तर, लगत्तै ६७ औँ मिनेटमा सलाह र हसनको त्यही सटिक तालमेलमा जिजोले अर्को प्रहार गर्दै इजिप्टलाई २-० को बलियो स्थितिमा पुर्‍याएका थिए । तर, ७९औँ मिनेटमा अर्जेन्टिनाका  क्रिस्टियन रोमेरोको एउटा सानदार गोलले खेलमा नयाँ प्राण भर्‍यो । त्यसको ठीक ५ मिनेटपछि, पेनाल्टीमा गोल गर्न नसकेर दबाबमा परेका कप्तान लियोनेल मेस्सीले आफ्नो असाधारण फिनिसिङको जादु देखाउँदै खेललाई २-२ को रोमाञ्चक बराबरीमा ल्याए । 

जुन उनको जारी विश्वकपको आठौँ र समग्रमा ऐतिहासिक २१ औँ विश्वकप गोल थियो । खेल नाटकको चरम उत्कर्षमा तब पुग्यो, जब इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले इजिप्टको रक्षापंक्तिलाई ध्वस्त पार्दै निर्णायक गोल गरेपछि एटलान्टा स्टेडियममा निलो र सेतो जर्सीका समर्थकहरूले खुसीको आँसु बगाए । यो अविश्वसनीय जितसँगै उपाधि रक्षाको यात्रा जीवित राख्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । जहाँ अब उसले स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेताको सामना गर्नेछ ।