काठमाडौं।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलको १५औँ मिनेटमा यासिर इब्राहिमको गोलबाट इजिप्टले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि कप्तान लियोनल मेस्सी गोल गर्न असफल हुँदा पहिलो हाफमा टोली बराबरी गर्न सकेन।
दोस्रो हाफको ५७औँ मिनेटमा मोस्ताफा जिकोले इजिप्टका लागि गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) परीक्षणपछि त्यसअघि फाउल भएको ठहर गर्दै गोल रद्द गरियो। तर, जिकोले ६६औँ मिनेटमा पुनः गोल गर्दै इजिप्टलाई २–० को बलियो अग्रता दिलाए।
७७औँ मिनेटसम्म दुई गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्यो। ७८औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए भने ८३औँ मिनेटमा मेस्सीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए।
इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा इन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम आठमा स्थान बनायो।
अब क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुने प्रि–क्वाटरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।











प्रतिक्रिया