काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर विभिन्न प्रकारका २ हजार ८ सय ५१ वटा विपद्का घटना भएका छन्। ती घटनामा १३७ जनाको मृत्यु, ८२८ जना घाइते भएका छन् भने ३ हजार ८ सय ९३ परिवार प्रभावित भएका छन्। यस अवधिमा कुनै पनि व्यक्ति बेपत्ता भएको विवरण छैन।
उपलब्ध तथ्यांकअनुसार सबैभन्दा धेरै सर्पदंशका ४३१ घटना भएका छन्। सर्पदंशबाट २८ जनाको मृत्यु भएको छ भने ४०४ जना घाइते भएका छन्। यसबाट ४३२ परिवार प्रभावित भएका छन्।
यस्तै, आगलागीका ८५० घटना भएका छन्, जसमा १७ जनाको मृत्यु र १०२ जना घाइते भएका छन्। आगलागीबाट ९३८ परिवार प्रभावित भएका छन्।
चट्याङका २१७ घटनामा २१ जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्। त्यस्तै लेक लाग्ने ५४ घटनामा २१ जनाले ज्यान गुमाएका छन् र ३४ जना घाइते भएका छन्।
तथ्यांकअनुसार जनावरको आक्रमणबाट १६ जनाको मृत्यु, हावाहुरीबाट १३ जनाको मृत्यु, बाढी र पहिरोबाट ७/७ जनाको मृत्यु, भारी वर्षाबाट ३, डुङ्गा पल्टिँदा २, वन डढेलो र हिउँ पहिरोबाट १/१ जनाको मृत्यु भएको छ।
विपद् व्यवस्थापनका निकायले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ र सर्पदंशका जोखिम अझ बढ्ने भएकाले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। साथै स्थानीय तह, सुरक्षा निकाय र नागरिकलाई पूर्वतयारी, सुरक्षित बसोबास र विपद् सम्बन्धी सूचना प्रणालीमा सक्रिय रहन अनुरोध गरिएको छ।











प्रतिक्रिया