विश्वकप–२०२६: अतिरिक्त समयमा पनि बराबरी, अर्जेन्टिना र केप भर्डे २–२ को रोमाञ्चक अवस्थामा


काठमाडौँ।

फिफा विश्वकप–२०२६ अन्तर्गत राउन्ड अफ ३२ मा साविक विजेता अर्जेन्टिना र विश्वकपमा पहिलोपटक सहभागी केप भर्डेबीचको प्रतिस्पर्धा अतिरिक्त समयमा पनि बराबरीमै पुगेको छ।

अमेरिकाको मियामीस्थित रंगशालामा जारी खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो। त्यसक्रममा दुवै टोलीले थप एक–एक गोल गर्दै खेललाई २–२ को रोमाञ्चक अवस्थामा पुर्‍याएका छन्।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले २८औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो उनको विश्वकप करिअरको २०औँ गोल पनि हो। तर, दोस्रो हाफको ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल फर्काएपछि केप भर्डे खेलमा पुनः फर्किएको थियो।

अतिरिक्त समय सुरु भएको केहीबेरमै अर्जेन्टिनाले फेरि अग्रता बनायो। ९१औँ मिनेटमा मेस्सीले प्रहार गरेको कर्नरमा एलिक्सिस म्याक एलिस्टारले हेडमार्फत बल अघि बढाउँदा लिसान्ड्रो मार्टिनेजले नजिकैबाट गोल गर्दै स्कोर २–१ बनाए।

तर केप भर्डेले हार मानेन। खेलको १०२औँ मिनेटमा सिड्नी लोपेस काब्रालले उत्कृष्ट प्रहारमार्फत बराबरी गोल गर्दै स्कोर २–२ पुर्‍याए।

डेब्यु विश्वकप खेलिरहेको केप भर्डेले साविक विश्व विजेता अर्जेन्टिनाविरुद्ध सशक्त प्रदर्शन गर्दै खेललाई अन्तिम क्षणसम्म रोमाञ्चक बनाएको छ। अतिरिक्त समयमा थप गोल नभए खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ।