“रानीसैन : सीमा भन्दा सम्बन्ध ठूलो ”

2.07k
Shares

बाजुरा ।

गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यो दिवस केवल शासन व्यवस्था परिवर्तनको उत्सव मात्र होइन, सहअस्तित्व, राष्ट्रिय एकता, नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कारको स्मरण गर्ने दिन पनि हो । यही ऐतिहासिक सन्दर्भबीच पछिल्लो समय बाजुरा र हुम्लाबीच चर्चामा आएको “रानीसैन” विषयले समाजलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय–सर्वपक्षीय बैठक बसिरहेको खबर छ । यसले कम्तीमा पनि संवादको ढोका अझै खुला रहेको संकेत गर्छ । यही क्रममा आज बिहान मैले हुम्लाका केही समकक्षी पत्रकार साथीहरूलाई कूटनीतिक नोट पठाएको छु । मेरो उद्देश्य एउटै थियो—तनाव होइन, संवाद बढोस् । किनकि हामी न चीनसँग सीमा विवादमा छौँ, न भारतसँग भू–राजनीतिक द्वन्द्वमा । हामी एउटै देशका नागरिक हौँ । एउटै राष्ट्रिय झण्डामुनि उभिएका नेपाली हौँ । त्यसैले रानीसैनको सवाललाई “तिम्रो–मेरो” को झगडाभन्दा “हाम्रो साझा जिम्मेवारी” को रूपमा बुझ्न आवश्यक छ ।

रानीसैन अहिले केवल “सीमा कसको?” भन्ने प्रश्नमा सीमित देखिँदैन । यसभित्र स्थानीय स्वार्थ, तस्करी सञ्जाल, राजनीतिक प्रभाव, प्रशासनिक कमजोरी, सुरक्षा उपस्थितिप्रतिको असहजता, ऐतिहासिक दाबी र भावनात्मक उत्तेजनाको मिश्रण देखिन्छ । अझ दुःखको कुरा, संवाद कमजोर हुँदा हिंसाले ठाउँ लिन थालेको छ । वडा सदस्य पेमादावा गुरुङ लगायतमाथि भएको आक्रमणले समस्या समाधान गरेको छैन, बरु अविश्वासको दूरी अझ बढाएको छ ।

यस्तो संवेदनशील विषयमा सबैभन्दा पहिला राजनीतिक नेतृत्व जिम्मेवार बन्नुपर्छ । राजनीतिक दलहरूको भूमिका समाजलाई एकताबद्ध बनाउने हुनुपर्छ, विभाजित गर्ने होइन । दुर्भाग्यवश कतिपय अवस्थामा जिल्लागत भावना उक्साएर क्षणिक लोकप्रियता खोज्ने प्रवृत्ति देखिन्छ । यो अत्यन्त खतरनाक बाटो हो । बाजुरा र हुम्लाका जनप्रतिनिधिहरूले आरोप–प्रत्यारोपको राजनीति होइन, संयुक्त संवाद समिति गठन गरेर साझा समाधान खोज्नुपर्छ । संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख, वडा प्रतिनिधि तथा राजनीतिक दलका अगुवाहरू नियमित रूपमा एउटै टेबलमा बस्नुपर्छ । “हाम्रो जिल्ला–तिम्रो जिल्ला” भन्ने भाषाभन्दा “यो साझा राष्ट्रिय सम्पत्ति हो” भन्ने सोच विकास गर्न जरुरी छ ।

राजनीतिक नेतृत्वले यदि जनभावनालाई भड्काउने काम गर्‍यो भने सानो विवादले ठूलो सामाजिक द्वन्द्वको रूप लिन सक्छ । त्यसैले अहिले आवश्यकता उत्तेजक भाषणको होइन, संयमित नेतृत्वको हो । राजनीतिक दलहरूले तथ्यमा आधारित संयुक्त अपिल जारी गर्दै हिंसा रोक्न र कानुनी प्रक्रिया सम्मान गर्न जनतालाई आग्रह गर्नुपर्छ ।

प्रशासनिक र सुरक्षा निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । विवादित क्षेत्रमा संघीय सरकारको नेतृत्वमा संयुक्त प्रशासनिक टोली खटाएर पुराना नक्सा, मालपोत अभिलेख, जनगणना विवरण, स्थानीय प्रयोग इतिहास र सरकारी अभिलेखको अध्ययन गरिनुपर्छ । भावनाको आधारमा होइन, प्रमाणको आधारमा निष्कर्ष निकालिनुपर्छ ।

यसबीच प्रहरी चौकी निर्माणको विषयलाई लिएर देखिएको विरोधले गम्भीर प्रश्न उठाएको छ । राज्यको उपस्थिति कमजोर भएको ठाउँमा अवैध गतिविधि, तस्करी र असुरक्षा बढ्ने सम्भावना रहन्छ । यदि वास्तवमै तस्करी सञ्जाल सक्रिय छन् भने त्यसको निष्पक्ष सुरक्षा अनुसन्धान हुनुपर्छ । सुरक्षा संयन्त्रलाई राजनीतिक दबाबबाट मुक्त राख्न आवश्यक छ । साथै अस्थायी “संयुक्त शान्ति निगरानी संयन्त्र” बनाएर दुबै जिल्लाका प्रतिनिधि, प्रशासन, नागरिक समाज र सुरक्षाकर्मीलाई सहभागी गराउन सकिन्छ ।

रानीसैनको विवाद समाधानमा सांस्कृतिक र सामाजिक सम्बन्धको भूमिका झन् ठूलो छ । बाजुरा र हुम्लाबीचको सम्बन्ध आजको होइन । इतिहास, व्यापार, धर्म, संस्कार, नाता र भौगोलिक सहयात्राले यी दुई जिल्लालाई धेरै पहिलेदेखि जोड्दै आएको छ । एउटै मेलापर्व, एउटै दुःख–सुख, एउटै हिमाल र एउटै जीवनशैलीले सम्बन्ध गाँसिएको छ । त्यसैले केही व्यक्तिको स्वार्थ वा क्षणिक उत्तेजनाले त्यो सम्बन्ध टुट्न दिनु हुँदैन ।

दुबै जिल्लाका बुद्धिजीवी, शिक्षक, धार्मिक अगुवा, कलाकार तथा युवाहरूले “सीमाभन्दा सम्बन्ध ठूलो” भन्ने जनचेतना अभियान सञ्चालन गर्नुपर्छ । साझा सांस्कृतिक कार्यक्रम, धार्मिक मेलमिलाप, युवा संवाद, खेलकुद प्रतियोगिता र सामाजिक भेला आयोजना गरेर सम्बन्धलाई थप बलियो बनाउन सकिन्छ । अहिले सामाजिक सञ्जालमा फैलिने उत्तेजक अभिव्यक्तिले आगोमा घ्यू थप्ने काम गरिरहेको छ । त्यसलाई नियन्त्रण गर्न समाजका जिम्मेवार व्यक्तिहरू सक्रिय बन्नुपर्छ ।

यस्तो संवेदनशील घडीमा पत्रकारिताको भूमिका सबैभन्दा महत्वपूर्ण र परीक्षाको विषय बनेको छ । पत्रकारिता समाजलाई विभाजित गर्ने माध्यम होइन, समाजलाई जोड्ने चेतनाको शक्ति हो । दुर्भाग्यवश अहिले कतिपय अवस्थामा उत्तेजक शीर्षक, अपुष्ट सूचना र भावनात्मक प्रस्तुतीकरणले समाजलाई थप विभाजित बनाउने खतरा बढेको छ ।

पत्रकारिताले आगोमा घ्यू थप्ने होइन, सत्यको दियो बाल्ने साहस गर्नुपर्छ । “सीमा विवाद” मात्र भनेर समाचार बनाउनु पर्याप्त हुँदैन । त्यसभित्र लुकेका तस्करी सञ्जाल, प्रशासनिक कमजोरी, स्थानीय पीडा, सुरक्षा चुनौती र राजनीतिक स्वार्थलाई पनि खोज पत्रकारितामार्फत उजागर गर्नुपर्छ । दुवै पक्षका नागरिकको आवाज समान रूपमा प्रस्तुत हुनुपर्छ । हिंसा भड्काउने भाषा होइन, समाधान खोज्ने बहसलाई प्राथमिकता दिनुपर्छ ।म पत्रकारितालाई समाजको “कैंची” होइन, “सियो र धागो” का रूपमा हेर्न चाहन्छु ।

कैंचीले चिर्छ, टुक्र्याउँछ र अलग गर्छ ।तर सियो र धागोले च्यातिएको सम्बन्ध जोड्छ, घाउ सिलाउँछ र समाजलाई पुनः एकतामा बाँध्छ ।

यदि पत्रकारिताले घृणा फैलायो भने त्यो कलमको पराजय हो । तर यदि त्यही शब्दले संवाद जन्मायो, सहकार्य बढायो र दुई समुदायलाई नजिक ल्यायो भने त्यो पत्रकारिताको विजय हुनेछ ।

नागरिक समाज, मानवअधिकारकर्मी, महिला समूह, युवा क्लब तथा सामाजिक संघसंस्थाहरूले पनि शान्ति निर्माणमा सक्रिय भूमिका खेल्नुपर्छ । शान्ति संवाद मञ्च निर्माण, पीडित पक्षबीच मेलमिलाप पहल, युवालाई हिंसात्मक समूहमा प्रयोग हुनबाट रोक्ने अभियान तथा “रानीसैन संरक्षण तथा शान्ति अभियान” जस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

दीर्घकालीन समाधानका लागि संघीय सरकारले उच्चस्तरीय सीमा अध्ययन आयोग गठन गर्नुपर्छ । स्पष्ट प्रशासनिक सीमांकन, सुरक्षा चौकी, स्वास्थ्य, शिक्षा, सडक तथा राज्य सेवाको विस्तार गरिनुपर्छ । स्थानीय समुदायलाई संरक्षण र विकास प्रक्रियामा प्रत्यक्ष सहभागी बनाइनुपर्छ ।

अन्ततः रानीसैन केवल भूगोलको प्रश्न होइन, विश्वासको प्रश्न बन्दै गएको छ । यदि यसलाई राजनीतिक प्रतिस्पर्धा र भीडको भावनामा छोडियो भने द्वन्द्व गहिरिन सक्छ । तर संवाद, प्रमाण, कानुनी प्रक्रिया, पत्रकारिताको जिम्मेवारी र सामाजिक सहकार्यबाट समाधान खोजियो भने यही रानीसैन द्वन्द्वको प्रतीक होइन, राष्ट्रिय एकताको उदाहरण बन्न सक्छ ।

आज आवश्यकता छ—

सीमाभन्दा सम्बन्ध ठूलो भन्ने चेतनाको ।

विवादभन्दा संवाद ठूलो भन्ने संस्कारको ।

र “मेरो जिल्ला” भन्दा “मेरो देश” ठूलो भन्ने राष्ट्रिय भावनाको ।

नेपाल साझा घर हो ।

यो घर कसैको एकल स्वामित्व होइन, सबैको साझा जिम्मेवारी हो ।

घरभित्र झगडा गरेर घर बलियो हुँदैन,

घर त हातेमालो, सहमति र विश्वासले सुन्दर बन्छ ।

त्यसैले आज फेरि एकपटक भन्न मन लाग्छ—

“रानीसैन : सीमा भन्दा सम्बन्ध ठूलो ।”