मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग अध्यक्ष लिङ्देनकाे माग


काठमाडौँ।

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौंमा शुक्रबार पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । अध्यक्ष लिङदेनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरुले तत्काल सफाईका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

सोही प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र संघ र त्यसमा आवद्ध संघ, संस्थाहरुको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरुले सफाईका लागि आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने अध्यक्ष लिङ्देनले बताएका छन् । उनले उक्त प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले पनि सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने आवश्यकता रहेकाे बताए ।

अध्यक्ष लिङ्देनले आफनो पार्टी मुलुकको एक मात्रै बैकल्पिक राजनीतिक शक्ति भएको जिकिर गर्दै निराश नभई सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गरे ।