स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिका–८ क्वामीमा निर्माणाधीन शित भण्डार (कोल्ड स्टोर) निर्माण कार्यले पछिल्लो समय तीव्रता पाएको छ । लामो समय बजेट अभावका कारण अलपत्र परेको बहुप्रतीक्षित योजनाले आर्थिक वर्ष २०८२÷८३ मा आवश्यक बजेट सुनिश्चित भएपछि पुनः गति लिएको हो । प्रदेश सरकार र चापाकोट नगरपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको शित भण्डारले स्थानीय कृषकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट ७५ लाख रुपैयाँ र चापाकोट नगरपालिकाबाट ४५ लाख रुपैयाँ गरी कुल एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएपछि निर्माण कार्यले तीव्रता पाएको हो । कृषिजन्य उत्पादनको संरक्षण, भण्डारण तथा बजार व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले निर्माण थालिएको शित भण्डारलाई चापाकोट क्षेत्रको कृषि विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधारका रुपमा हेरिएको छ ।
शित भण्डार निर्माणको जिम्मा काठमाडौंस्थित रिदम एण्ड रिम्याश बिल्डर्स प्रा.लि. ले लिएको छ । निर्माण कम्पनीले २०८२ फागुन १३ गते ९९ लाख ८२ हजार १ सय १५ रुपैयाँ ८२ पैसामा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । हाल भवन निर्माणका विभिन्न संरचनागत कामहरु तीव्र गतिमा अघि बढिरहेका छन् । निर्माण कम्पनीका सञ्चालक शशी शाहका अनुसार निर्माण कार्य निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको छ । उहाँले अहिले कोल्ड स्टोर निर्माणको काम धमाधम भइरहेको बताउँदै सम्झौताअनुसार तोकिएको समयभित्र सम्पूर्ण काम सम्पन्न हुने दाबी गर्नुभयो ।
“हामीले निर्माण सामग्री, प्राविधिक जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरेर कामलाई तीव्रता दिएका छौँ,” शाहले भन्नुभयो, “सम्झौताअनुसार सम्पन्न गर्नुपर्ने समय अर्थात् आगामी असार १२ गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”
स्थानीय जनप्रतिनिधिहरुले पनि निर्माण कार्यको नियमित अनुगमन गरिरहेको बताएका छन् । चापाकोट नगरपालिका–८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु) ले निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम गरिरहेको बताउनुभयो । “अहिले तिव्र गतिमा काम भइरहेको छ,” उहाँले भन्नुभयो, “यदि यही गति कायम रह्यो भने निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुन्छ भन्ने विश्वास छ । हामीले नियमित रुपमा अनुगमन र रेखदेख गरिरहेका छौँ ।” वडा अध्यक्ष न्यौपानेका अनुसार शित भण्डार निर्माण सम्पन्न भएपछि वडा तथा आसपासका क्षेत्रका किसानले उत्पादन गरेका आलु, तरकारी तथा अन्य कृषिजन्य सामग्री सुरक्षित रुपमा भण्डारण गर्न सक्नेछन् । यसले उत्पादनपछि हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँणले शित भण्डार निर्माण सम्पन्न भएपछि स्थानीय कृषकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । हाल चापाकोट क्षेत्रमा उत्पादन हुने आलु तथा अन्य कृषिजन्य सामग्री भण्डारणका लागि किसानले पाल्पाको रामपुर, बुटवल, भैरहवा लगायतका स्थानमा लैजानुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो ।
“चापाकोटमा कोल्ड स्टोर नहुँदा किसानले उत्पादन गरेको कृषि उपज सुरक्षित राख्न निकै समस्या भोग्नुपरेको छ,” नगर प्रमुख खाँणले भन्नुभयो, “निर्माण सम्पन्न भएपछि किसानले आफ्नै क्षेत्रमा उत्पादन भण्डारण गर्न पाउनेछन् । यसले ढुवानी खर्च घटाउनुका साथै उत्पादनको गुणस्तर जोगाउन र उचित मूल्य प्राप्त गर्न पनि सहयोग पु¥याउनेछ ।” नगर प्रमुख खाँणका अनुसार कृषि उत्पादनको भण्डारण अभावका कारण किसानले धेरैजसो अवस्थामा तत्काल बिक्री गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् । बजार मूल्य कम भएका बेला पनि उत्पादन बेच्नुपर्ने अवस्थाले किसानलाई आर्थिक रुपमा घाटा बेहोर्नुपरेको छ । शित भण्डार सञ्चालनमा आएपछि किसानले आवश्यकताअनुसार उत्पादन सुरक्षित राखेर उपयुक्त समयमा बिक्री गर्न सक्नेछन् ।
यो योजना पहिलो पटक आर्थिक वर्ष २०७९÷८० मा अघि बढाइएको थियो । उक्त वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोही बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नुका साथै ग्राउन्ड लेभलसम्मको निर्माण कार्य सम्पन्न गरिएको थियो । तर त्यसपछि लगातार दुई आर्थिक वर्षसम्म आवश्यक बजेट विनियोजन हुन नसक्दा योजना अलपत्र परेको थियो । निर्माण कार्य रोकिएपछि स्थानीयवासी तथा कृषकले चासो व्यक्त गर्दै योजना सम्पन्न गर्न माग गर्दै आएका थिए । बजेट अभावका कारण अधुरो रहेको योजना चालु आर्थिक वर्षमा पुनः प्राथमिकतामा परेपछि निर्माण कार्यले नयाँ गति पाएको हो ।
कृषि उत्पादनका लागि उर्वर मानिने चापाकोट क्षेत्रमा आलु, तरकारी, फलफूल तथा अन्य नगदे बालीको उत्पादन हुँदै आएको छ । तर भण्डारण पूर्वाधारको अभावले किसानले उत्पादनको उचित व्यवस्थापन गर्न नसक्दा समस्या भोग्दै आएका थिए । निर्माणाधीन शित भण्डार सञ्चालनमा आएपछि कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादनको संरक्षण तथा किसानको आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । स्थानीय कृषकहरु पनि शित भण्डार निर्माण सम्पन्न हुने प्रतीक्षामा छन् । उनीहरुका अनुसार उत्पादन भण्डारणको सुविधा उपलब्ध भएमा कृषि पेशाप्रति थप आकर्षण बढ्नुका साथै कृषि उत्पादनको दिगो व्यवस्थापनमा समेत टेवा पुग्नेछ । यसै कारण चापाकोटको बहुप्रतीक्षित शित भण्डार योजना समयमै सम्पन्न हुनेमा स्थानीयवासी आशावादी देखिएका छन् ।











प्रतिक्रिया