अध्ययन भ्रमण कि धार्मिक यात्रा ? डिभिजन वन कार्यालयको कार्यक्रममाथि प्रश्न

7.61k
Shares

रौतहट ।

संघीय सरकारले सार्वजनिक खर्च कटौतीको नीति अघि बढाइरहेका बेला मधेस प्रदेश सरकार अन्तर्गतका कार्यालयहरूको कार्यक्रम भने मठमन्दिर केन्द्रित हुन थालेको भन्दै आलोचना सुरु भएको छ। डिभिजन वन कार्यालय रौतहटले आयोजना गरेको “वन, वातावरण तथा जैविक विविधता संरक्षण सम्बन्धी अध्ययन तथा अवलोकन भ्रमण” अन्तर्गत कर्मचारीहरू पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल पाथीभारा देवी मन्दिर पुगेपछि कार्यक्रमको औचित्यमाथि प्रश्न उठेको हो।

कार्यालयले भ्रमणलाई वन संरक्षण, जैविक विविधता व्यवस्थापन तथा पर्यावरणीय संरक्षण सम्बन्धी अध्ययनको रूपमा प्रस्तुत गरेको छ। कार्यालयका अनुसार भ्रमणका क्रममा वन क्षेत्रको दिगो व्यवस्थापन, प्राकृतिक स्रोत संरक्षण तथा वातावरणीय सन्तुलनका विषयमा छलफल गरिएको जनाएको छ। तर स्थानीयवासी तथा सरोकारवालाले अध्ययन भ्रमणको नाममा कर्मचारीहरू धार्मिक भ्रमणमा गएको आरोप लगाएका छन्।

डिभिजन वन कार्यालयका अधिकांश कर्मचारी भ्रमणमा निस्किँदा जिल्लाभित्र वन अनुगमन कमजोर बनेको र काठ तस्करीसमेत बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। वन क्षेत्र संरक्षणको जिम्मेवारी बोकेको कार्यालयले प्राथमिकता विपरीत कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ। खर्च कटौतीको सन्देश दिइरहेका बेला सरकारी स्रोतसाधन प्रयोग गरेर गरिएको यस्ता भ्रमणले जनस्तरमा नकारात्मक सन्देश जाने टिप्पणी हुन थालेको छ।