विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा उदयपुरका रामबहादुर पक्राउ

940
Shares

उदयपुर ।

उदयपुरको रौतामाई नगरपालिका ४का एक व्यक्तिले विभिन्न ठाउँका मानिसहरुलाई विदेश पठाउने भन्दै अनधिकृत रुपमा रकम असुलेको तर विदेश नपठाएका कारण प्रहरीले उजुरीका आधारमा पक्राउ गरी आवश्यक कार्वाही अघि बढाएको छ ।

क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उदयपुरका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका ४ का ४५ वर्षीय रामबहादुर आलेमगर रहेका छन् ।

तारकेश्वर नगरपालिका ७‚ काठमाडौँ बस्दै आएका उनलाई आइतबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तारकेश्वर नगरपालिका ८ बाट पक्राउ परेका आलेमगरले चारजना पीडितलाई क्यानडा पठाउने आश्वासन दिएका थिए ।

चार जनाबाट २९ लाख ५८ हजार रुपैयाँ रकम संकलन गरेपछि उनी सम्पर्कविहीन बनेको आरोप लगाउँदै पीडितले प्रहरीमा उजुरी दिएका थिए । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आलेमगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।