त्रियुगा नगरपालिकामा “परिकल्पना निर्धारण कार्यशाला” सम्पन्न

658
Shares

उदयपुर ।

 उदयपुरको गाईघाटस्थित त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यालयले “एकीकृत शहरी विकास योजना (IUDP)” अन्तर्गत “परिकल्पना निर्धारण कार्यशाला (Vision Setting Workshop)” सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०८२-०८३ मा स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाको २० वर्षे रणनीतिक विकास योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित कार्यशाला बुधबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

नगरप्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाको दीर्घकालीन विकासका सम्भावना, चुनौती तथा प्राथमिकताका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा नगरपालिकाले आगामी २० वर्षभित्र समावेशी, व्यवस्थित र दिगो शहरी विकासको लक्ष्य हासिल गर्न आवश्यक रणनीति तय गर्ने उद्देश्य रहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा प्लाटफर्म इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि., नयाँ बानेश्वर काठमाडौंले प्रस्तुतीकरण गरेको थियो । कन्सल्टेन्सीका प्रतिनिधिहरूले नगरको भौतिक पूर्वाधार, सडक सञ्जाल, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा आर्थिक विकासका सम्भावनाहरू समेटिएको प्रारम्भिक अवधारणा प्रस्तुत गरेका थिए। साथै नगरको योजनाबद्ध विकासका लागि स्थानीय तह, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको औँल्याइएको थियो ।

कार्यशालामा नगरप्रमुखसँग उद्योग वाणिज्य, निर्माण व्यवसाय, घरेलु उद्योग, होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले त्रियुगा नगरपालिकालाई आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न पूर्वाधार विस्तार, लगानीमैत्री वातावरण तथा व्यवस्थित बजार व्यवस्थापन आवश्यक रहेको सुझाव दिएका थिए ।

यस्तै स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूसँग पनि नगरको स्वास्थ्य सेवा विस्तार, विशेषज्ञ सेवा उपलब्धता, स्वास्थ्य पूर्वाधार सुधार तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच बढाउने विषयमा छलफल भएको थियो । खेलकुद विधाका संघ–संस्थासँगको अन्तरक्रियामा खेल मैदान निर्माण, खेल प्रतिभा विकास तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने योजना आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

त्यसैगरी प्राध्यापक, शिक्षक, कृषक, प्याब्सन, एन–प्याब्सन तथा नागरिक समाजका प्रतिनिधिहरूसँग समेत अन्तरक्रिया गरिएको थियो । शिक्षा क्षेत्रका सहभागीहरूले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताएका थिए भने कृषकहरूले कृषि आधुनिकीकरण, सिंचाइ सुविधा र बजार व्यवस्थापनमा नगरपालिकाले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले त्रियुगा नगरपालिकाको दिगो विकासका लागि सबै क्षेत्रको साझा सहभागिता आवश्यक रहेको बताएका थिए । नगरप्रमुख बसन्त कुमार बस्नेतले कार्यशालाबाट प्राप्त सुझावलाई समेटेर नगरको दीर्घकालीन विकास योजना तयार गरिने जानकारी दिँदै समृद्ध, व्यवस्थित र आधुनिक त्रियुगा निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।