–१०२४ पाठ्यघण्टा
–परियोजना र अन्य कार्य गर्न ७९ घण्टा
काठमाडौं।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चालू शैक्षिक सत्रमा १९५ दिन विद्यालय खोल्न निर्देशन दिएको छ । शिक्षा तथा मानवस्रोत केन्द्रले शनिवार र आइतबार दुई दिन विद्यालय बन्द भएपछि नियमित रूपमा १८४ दिन र ११ दिन वर्षे बिदा जोडेर १९५ दिन पठनपाठन चालू गर्न निर्देशन दिएको हो ।
केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सबै शिक्षण संस्थालाई १९५ दिन पठनपाठन गर्ने व्यवस्था गरेको हो । केन्द्रका उपमहानिर्देशक महेन्द्रप्रसाद पराजुलीले चालू शैक्षिक सत्रदेखि १ हजार २४ पाठ्यघण्टा कायम गरेको जानकारी दिनुभयो ।
उहाँले १९५ दिन पठनपाठनका अलावा ७९ घण्टा लचकता दिने व्यवस्था मिलाएको छ, जसअनुसार उक्त दिन परियोजनालगायत अन्य क्रियाकलाप गर्ने व्यवस्था गर्नसमेत निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबै सामुदायिक र संस्थागत विद्यालयले दुई दिन सार्वजनिक बिदा पूर्ण रूपमा कार्यान्वयन गरेका छन् । उहाँले भन्नुभयो– ‘केही स्थानीय तहले आइतबार विद्यालय खोल्ने निर्णय गरेका थिए, तर विद्यार्थीले बन्दको दिन पनि विद्यालय खोलेको विषयमा उजुरी गरेपछि अहिले पूर्णरूपमा आइतबार बन्द भएका छन् ।’
केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेको कार्यदलले सिफारिस गरेको आधारमा केन्द्रले पाठ्यघण्टा र कार्यदिन तय गरेको हो । महानिर्देशक न्यौपानेले सबै सरोकारवाला निकायको सल्लाहअनुसार पाठ्यघण्टा निर्धारण गरिएको जानकारी दिनुभयो । पाठ्यघण्टा र विद्यालय खुल्ने दिनको आधारमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तयारी गरिरहेको छ । यसअघि नयाँ शैक्षिक सत्र सुरु भएको एक सातापछि शिक्षा तथा खेलकुद मन्त्रालयले दुईदिने बिदाका कारण पठनपाठनमा हुने क्षति व्यवस्थापनका लागि कार्यघण्टा निर्धारण गरेको थियो । मन्त्रालयको निर्णयलाई केन्द्रले ६ बुँदामा विद्यालयहरू, स्थानीय तह र जिल्लाहरूलाई सर्कुलर गरेको थियो ।
सोही आधारमा प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट, सोमवारदेखि शुक्रवारसम्म पूरा समय पठनपाठन सञ्चालन गरिरहेका छन् । स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा समुदाय एवं परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य शुक्रवार र आवश्यकताअनुसार प्रस्तुति गर्ने अवसर प्रदान गर्ने निर्णय गरेको थियो ।
महानिर्देशक न्यौपानेले केन्द्रले स्थानीय र प्रदेश सरकारको समन्वयनमा शिक्षकको दरबन्दी मिलान र विद्यालय समायोजनको खाका तयार गरेको जानकारी दिनुभयो । उहाँले करिब ६ सय बढी विद्यालय समायोजन र २० हजार प्रावि शिक्षक दरबन्दी मिलानको चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार केन्द्रले अब प्रावि शिक्षको दरबन्दी खोल्न सिफारिस गर्नेछैन ।











प्रतिक्रिया