गणितका स–साना कोणहरूले संसारकै सर्वोच्च शिखर नाप्न सक्छन् र ब्रह्माण्डका अनेकौँ रहस्य खोल्न सक्छन् भन्ने कुरा सुन्दा कुनै काल्पनिक कथा जस्तो लाग्छ । तर, त्रिभुजका कोण र भुजाहरूको सम्बन्ध अध्ययन गर्ने ‘त्रिगोनोमेट्री’ को विकास र इतिहास मानव चेतना, साहस र बुद्धिको एउटा यस्तो उपहार हो, जसले हाम्रो आधुनिक संसारको जग बसालेको छ । प्राचीन ग्रीक खगोलशास्त्री हिप्पार्कसले पहिलो पटक त्रिगोनोमेट्री तालिका बनाएर रोपेको यो गणितको बिउलाई महान् भारतीय गणितज्ञ आर्यभट्टले आधुनिक ‘साइन’ र ‘कोसाइन’ को धारणा परिभाषित गर्दै अझ उर्वर बनाएका थिए । आज यही विधाको अद्भूत सामथ्र्यका कारण हामी भौतिक रूपमा कतै नपुगीकनै, केवल कोणहरूको गणितीय हिसाबबाट विशाल दूरी र उचाइ मापन गर्न सक्छौँ । सिभिल इन्जिनियर र आर्किटेक्टहरूले भवनको उचाइ र छानाको भिरालोपन मिलाएर गगनचुम्बी संरचना बनाउनेदेखि लिएर अन्तरिक्षमा घुमिरहेका भूउपग्रहहरूबाट आउने संकेतको कोण नापी जीपीएस प्रविधिमार्फत सटीक स्थान पत्ता लगाउनेसम्मका सबै काम यसैको जगमा खडा भएका छन् । त्यति मात्र होइन, हाम्रो कानले सुन्ने ध्वनि, आँखाले देख्ने प्रकाश र घरघरमा प्रवाह हुने विद्युतका तरंगहरूलाई ग्राफमा उतार्न, समुद्रको रहस्यमयी गहिराइमा सूर्यको प्रकाश नाप्न र अपराध अनुसन्धानमा गोली वा रगतका छिटाहरू उछिट्टिएको कोण (ट्राजेक्टरी) पत्ता लगाई घटनाको अनुसन्धान गर्न समेत यो विधा एउटा अचम्मको साँचो बनेको छ ।
यही गणितीय जादुलाई हतियार बनाएर सन् १८०२ अप्रिल १० का दिन भारतमा तत्कालीन इस्ट इन्डिया कम्पनीको नेतृत्वमा ‘द ग्रेट त्रिगोनोमेट्रिकल सर्भे अफ इन्डिया’ (जीटीएस) नामक एउटा ठूलो वैज्ञानिक अभियानको सुरुवात भएको थियो । विलियम ल्याम्टनद्वारा परिकल्पना गरिएको त्यो महत्वाकांक्षी परियोजनाको मुख्य उद्देश्य तत्कालीन समयमा कुनै स्पष्ट नक्सा नभएको विशाल भारतीय उपमहाद्वीपलाई त्रिकोणीकरण (ट्रयाङ्ुलेसन) विधि प्रयोग गरेर एउटा वैज्ञानिक नक्सामा ढाल्नु थियो । तत्कालीन समयका शासकहरूले यसलाई अत्यधिक खर्चिलो र अव्यावहारिक भन्दै खिसीट्युरी गरे पनि ल्याम्टन र उनको टोली दृढ संकल्पका साथ अघि बढ्यो र लन्डनबाट करिब आधा टन (५०० केजी) तौल भएको ‘थियोडोलाइट’ नामक विशाल पित्तलको यन्त्र मगायो । जसलाई बोक्न मात्रै १२ जना बलिया मानिसहरू आवश्यक पथ्र्यो । कठिन भौगोलिक अवस्था, महामारी र अनेकन प्राविधिक चुनौतीहरूलाई चिर्दै उनीहरूले मद्रास नजिकै साढे सात माइल लामो पहिलो आधार रेखा खिच्न १ सय फिट लामो चेन र थर्ममिटर सहित ५७ दिनसम्म अनवरत काम गरे । अनि एउटा विशाल अन्तरसम्बन्धित त्रिकोणहरूको सञ्जाल निर्माण गरे । जसलाई ‘ग्रेट आर्क अफ द मेरिडियन’ भनिन्छ । झण्डै एक शताब्दीसम्म चलेको यो कठोर अभियानले भारतलाई एउटा रहस्यमयी भूमिबाट गणितीय रूपमा स्पष्ट र सटिक भूगोलमा रूपान्तरण गरिदियो । जसले गर्दा संसारलाई हेर्ने र नाप्ने दृष्टिकोणमा सधैँका लागि एउटा क्रान्तिकारी परिवर्तन आयो ।
यस महाअभियानको सबैभन्दा गौरवशाली र अविस्मरणीय वैज्ञानिक उपलब्धि भनेको संसारकै सर्वोच्च शिखर सगरमाथाको पहिचान गर्नु थियो । तत्कालीन समयमा नेपाल र तिब्बतको प्रतिबन्धित सीमा क्षेत्रमा अवस्थित भएकाले सर्भेक्षकहरूका लागि यो हिमाल पहुँच बाहिर भए तापनि, उनीहरूले हार नमानी भारतको समथर मैदानबाटै विभिन्न छ वटा फरक दिशाहरूबाट त्रिगोनोमेट्रीय कोणहरू नापेर त्यसको औसत नाप निकाल्दै उक्त चुचुरोको उचाइ २९,००२ फिट भएको घोषणा गरे । अचम्मको कुरा त के छ भने, आधुनिक प्रविधि र स्याटेलाइट आउनु अगावै केवल त्रिगोनोमेट्रीको सामान्य सिद्धान्तबाट निकालिएको यो उचाइ पछि आधुनिक वैज्ञानिक पद्धतिहरूबाट नाप्दा समेत लगभग उति नै प्रमाणित भयो । ल्याम्टनको निधनपछि यस परियोजनालाई अगाडि बढाउने कठोर र दृढ संकल्पी सर्भेयर जनरल सर जर्ज एभरेस्टको सम्मानमा यस सर्वोच्च शिखरको नाम ‘माउन्ट एभरेस्ट’ राखियो । यो ऐतिहासिक सर्भेले केवल नक्सा मात्र बनाएन, हिमालय क्षेत्रमा गुरुत्वाकर्षणको असमानता पत्ता लगाएर आधुनिक भू–भौतिकी (जियोफिजिक्स) को महत्वपूर्ण सिद्धान्त ‘आइसोस्टेसी’ को जग समेत बसायो । यसरी केवल कागजको पाना र कलममा सीमित रहने गणितले कसरी मानव साहससँग मितेरी लाएर प्रकृतिका विशाल साम्राज्यहरूलाई नाप्न र बुझ्न सक्छ भन्ने कुरा त्रिगोनोमेट्रीको यो गौरवशाली इतिहासले आज पनि हामीलाई अचम्मित र प्रेरित गरिरहन्छ ।











प्रतिक्रिया