विकट गाउँमा कफी क्रान्ति : फेरिँदै खानीखोला र महाभारतको मुहार

महाभारतको फोक्सिङटार र खानीखोलाको फलामेटार कफी पकेट क्षेत्र घोषणा 

5.17k
Shares

काभ्रे। 

कुनै समय नागरिकता बनाउन जिल्ला सदरमुकाम धुलिखेल आउँदा मात्रै १५ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था थियो । सडक सञ्जाल कमजोर, शिक्षा–स्वास्थ्य पहुँच टाढा, रोजगारीको अभाव र गरिबीका कारण काभ्रेको दक्षिणी भेगका खानीखोला र महाभारत गाउँपालिकाका नागरिक वर्षौंदेखि विकटताको पीडामा बाँचेका थिए ।तर, अहिले त्यही भूगोलमा कफीको हरियाली फैलिएको छ । पहाडका पाखा–पखेरामा फैलिएका कफीका बोटले केवल जमिन मात्रै हराभरा बनाएका छैनन्, स्थानीयको जीवनशैली, सोच र आर्थिक अवस्थासमेत परिवर्तन गर्न थालेका छन् । ‘गाउँमै कमाउँ, गाउँमै रमाउँ’ भन्ने नारालाई व्यवहारमै उतार्दै यी दुई पालिकाले कफी खेतीमार्फत ग्रामीण अर्थतन्त्रलाई नयाँ दिशा दिएका छन् ।

खानीखोलाको वडा नं. २ फलामेटार यतिबेला कफी उत्पादनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा कफी खेतीलाई प्राथमिकता दिएपछि अधिकांश घरधुरी कफी उत्पादनमा जोडिएका छन् । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार खानीखोलाको माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त भएकाले यसलाई समृद्धिको आधार बनाइएको हो ।

‘सुखी नेपाली र समृद्ध नागरिक बनाउने आधार यही उत्पादन हो’–अध्यक्ष थिङले भने – ‘दूध र कफीमा उत्पादनका आधारमा अनुदान दिने नीति ल्यायौं । दूधमा अपेक्षित सफलता नदेखिए पनि कफीमा निकै उत्साहजनक परिणाम आयो ।’ गाउँपालिकाले सातवटै वडामा नर्सरी व्यवस्थापन गरेपछि व्यावसायिक कफी खेती विस्तार भएको हो । हालसम्म गाउँपालिकाभित्र करिब दुई लाख कफीका बिरुवा रोपिएका छन् । फलामेटारलाई पूर्ण कफी पकेट क्षेत्र घोषणा गरिएको छ भने उत्पादित कफीमा प्रतिकेजी ३५ रुपैयाँ अनुदान दिन थालिएको छ ।

एक वर्षमै ७० टन कफी उत्पादन भएको गाउँपालिकाको तथ्यांक छ । आगामी वर्षदेखि सबै बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक २० देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । वडा नं. २ का कृषकहरूले मात्रै १० करोड रुपैयाँभन्दा बढीको कफी बिक्री गर्न सक्ने अपेक्षा गरिएको छ । अहिले किसानहरूले कफीका दाना प्रतिकेजी एक हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । फलामेटारका धेरै कृषकले कफीबाट लाखौं आम्दानी गर्न थालेका छन् । कसैले ३ सय रुपैयाँबाट सुरुआत गरे भने कसैले एक वर्षमै ९ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । स्थानीय कृषक पूर्णकुमारी खुलाल भन्छिन् – ‘मकैभन्दा कफी खेती सजिलो र आम्दानी धेरै हुने रहेछ । थोरै जमिनबाट पनि राम्रो कमाइ भइरहेको छ ।’ 

खानीखोलामा कफी खेतीसँगै बहुबाली प्रणाली पनि विस्तार हुँदै गएको छ । कफीको माथिल्लो तहमा मेकाडेमिया नट्स र एभोकाडो तथा तल्लो तहमा बेसार, अदुवा र पिँडालु लगाउन थालिएको छ । यसले कृषकलाई वर्षभरि आम्दानीको आधार सिर्जना गरेको छ । फलामेटार कफी उत्पादक कृषक समूहका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य अक्कलबहादुर थिङ ले गाउँमा युवादेखि ज्येष्ठ नागरिकसम्मलाई कृषि उत्पादनमा जोड्ने अभियान सफल हुँदै गएको बताए ।  वडाका २ सय ६४ घरधुरीमध्ये २ सय ६३ घरमा कफी खेती सुरु भएको उनले बताए । ‘हामी आफैं ब्रान्डिङ, प्याकेजिङ र प्रशोधन उद्योग सञ्चालन गर्ने तयारीमा छौं । राजधानीमा शो–रुमसमेत सञ्चालनमा ल्याएका छौं’–उनले भने । 

कफी उत्पादनमा खानीखोलासँगै महाभारत गाउँपालिका पनि अग्रसर देखिएको छ । ‘जसले रोप्छ कफी बोट, उसैले पाउँछ २० को नोट’ अभियानले त्यहाँका किसानलाई कफी खेतीतर्फ आकर्षित गरेको छ । गाउँपालिकाले समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत कफी खेतीलाई प्राथमिकतामा राखेको हो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महाभारतको भौगोलिक अवस्था कफीका लागि उपयुक्त भएकाले किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गरिएको बताए । ‘२०७७ सालदेखि कफीका बिरुवा वितरण गरिरहेका छौं’–उनले भने – ‘हरेक नागरिकलाई कफी खेतीसँग जोडेर आर्थिक समृद्धितर्फ लैजाने हाम्रो लक्ष्य हो । अहिले कफी खेती हेर्न आन्तरिक पर्यटकसमेत आउन थालेका छन् ।’ 

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी का अनुसार काभ्रे जिल्लाबाट मात्रै वार्षिक १ सय ८५ मेट्रिक टन कफी निर्यात भइरहेको छ । देशभर ७ सय मेट्रिक टन कफी निर्यात हुँदा महाभारत र खानीखोलाबाट सबैभन्दा बढी व्यावसायिक उत्पादन भइरहेको उनले बताए । उनका अनुसार प्रदेश सरकारको ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत खानीखोला र महाभारतमा कफी खेती विस्तार गरिएको हो । कृषकलाई आधुनिक कृषि उपकरण, हाते ट्र्याक्टर, पम्प लगायतका सामग्रीमा प्रदेश सरकारको ६० प्रतिशत, स्थानीय तहको २० प्रतिशत र कृषकको २० प्रतिशत लागत साझेदारी गरिएको छ । महाभारत गाउँपालिका वडा नं. ३ फोक्सिङटारमा कफी ब्लक विकास कार्यक्रमअन्तर्गत झोल मल बनाउने प्रविधिसहित दुईदिने तालिमसमेत सञ्चालन गरिएको छ । कृषकलाई जैविक खेती, बिरुवा व्यवस्थापन, रोग नियन्त्रण र बजार व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको छ । स्थानीय जनप्रतिनिधिहरूका अनुसार कफी खेतीले केवल आम्दानी मात्रै बढाएको छैन, वैदेशिक रोजगारीतर्फ पलायन भइरहेका युवालाई गाउँमै रोक्न पनि मद्दत गरेको छ ।

खानीखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष दशरथ लामा भन्छन् – ‘पहिले यहाँ विकासको कुनै सम्भावना देखिँदैनथ्यो । अहिले कफी खेतीले गाउँको पहिचान बदल्दैछ । सडक, बजार र उत्पादनसँगै मानिसको सोचसमेत परिवर्तन हुँदै गएको छ ।’ नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने ले स्थानीय उत्पादनमार्फत ग्रामीण समृद्धिको आधार निर्माण भइरहेको बताए । ‘विकटता र अभावका बीच सुरु भएको यो अभियान अब राष्ट्रिय स्तरमै उदाहरण बन्न सक्छ’– उनले भने – ‘काभ्रेको दक्षिणी भेग अब गरिबीको परिचय होइन, कफी उत्पादनको पहिचान बन्न थालेको छ ।’