गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

1.69k
Shares

उदयपुर  । 

उदयपुरको कटारी नगरपालिका २ मा सञ्चालित एक संस्थागत विद्यालयको स्कुलबसका सहचालकले  सोमबार गुडिरहेको स्कुलबसबाट खसेर ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार बिहान करिब ९ बजे कटारी नगरपालिका वडा नं. २ गिद्वबर स्थित भित्री सडक खण्डमा सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.—०१—००१ ख ०९८५ नम्बरको स्कुल बस विद्यार्थी लिन कटारी नगरपालिका वडा नं. १ बेलसोततर्फ जाँदै गरेको अवस्थामा अचानक बसबाट खस्दा सह–चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी नगरपालिका वडा नं। २ बस्ने अन्दाजी ३१ वर्षीय उत्तम थापा गुडिरहेको बसको ढोकाबाट अचानक खस्दा उनको शरीरको विभिन्न भागमा चोटपटक लागि घाईते भई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा उपचारको क्रममा बिहान ९ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

बस र बस चालक कटारी नगरपालिका वडा नं. २ बस्ने ४८ वर्षीय छत्र बहादुर कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । मृतकको शवको आवश्यक कानूनी प्रक्रिया गरी प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।