काठमाडौँ।
सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ ।अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो ।
उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुभारम्भ गरे ।
नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन् । यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो ।
साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो । तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन् । नयाँ अनलाइन सहजीकरण सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए ।
“सरकारले अनुसरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनका क्रममा यो कार्य सुरु गरिएको हो,” अर्थमन्त्री डा वाग्लेले भने, “पर्यटकलाई कुनै कठिनाइ नहोस् । सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौँ ।”
नयाँ प्रणाली सुरुआत गर्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब ‘डिजिटल’ भएको बताए । उनका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधनसम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन् । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउनेछ ।











प्रतिक्रिया