प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चार अवरोध नभएको सचिवालयको स्पष्टिकरण


काठमाडौं।

प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले सोमबार एक प्रेस नोट जारी गर्दै उक्त दाबी असत्य भएको स्पष्ट पारेको हो।

सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरभित्र सवारी साधनको अत्यधिक भीड देखिएपछि व्यवस्थापन र सुरक्षाबारे मात्र चासो राखिएको थियो। सो विषय सञ्चारकर्मीलाई हटाउने वा भिडियो खिच्न रोक्ने निर्देशनसँग सम्बन्धित नभएको उल्लेख गरिएको छ।

त्यसैगरी, प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरेपछि केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीलाई हट्न भनेको भन्ने गुनासो आएको भए पनि तत्काल समन्वय गरेर त्यस्तो कुनै प्रतिबन्ध नरहेको जानकारी गराइएको सचिवालयले जनाएको छ।

सचिवालयले सञ्चारकर्मीलाई सूचना संकलन र रिपोर्टिङका लागि दिइएको पहुँचमा कुनै कटौती नगरिएको र भविष्यमा पनि नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्रेसमाथिको अवरोधका रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ।

सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक तथा संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै सञ्चार क्षेत्रसँग सहकार्य र पारदर्शिता कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।