राष्ट्रिय प्रतियोगितामै बेवास्ता: खेलचिकित्साले कहिले पाउला प्राथमिकता ?


हेटौंडा।

केही वर्षअघि दशरथ रंगशालामा भएको राष्ट्रिय फुटबल प्रतियोगितामा मनिष डाँगी विपक्षी खेलाडीसँग ठोक्किएर अचेत हुनपुगे । तत्काल विपक्षी विदेशी खेलाडीले सीपीआर गरे र एकछिनमा होस आयो । पछि बुझ्दा रेफ्री तथा अन्य खेलाडीमा सीपीआरसम्बन्धी ज्ञान नभएको पाइएको चर्चा चल्यो ।
सीपीआर मुटुको धड्कन वा श्वासप्रश्वास अचानक रोकिएमा ज्यान बचाउन गरिने एक आकस्मिक प्राथमिक उपचार विधि हो । यसले मुटु र मस्तिष्कमा अक्सिजनयुक्त रगतको प्रवाह जारी राख्न मद्धत गर्दछ । यस प्रविधिले घाइते÷बिरामीलाई अस्पताल नपु¥याउञ्जेल मृत्युको मुखबाट फर्काउन सक्छ ।

यस्तै, हेटौंडामा सम्पन्न राष्ट्रिय बक्सिङ प्रतियोगितामा एक खेलाडीले खेलदौरान टाउकोमा चोट लाग्दा ज्यान गुमाए । तत्काल उपयुक्त उपचार पद्धति नभएर नै त्यस्तो हुन पुगेको बुझिन्छ ।

खेलमैदानमा खटिने जनशक्तिहरु दक्ष नहुनु पनि अर्को समस्या बनेको छ । नेपाली खेलमा स्पोर्टस् फिजियोको निकै अभाव छ, जसले खेलाडीहरुको पुनस्र्थापनामा ठूलै समस्या हुने गर्छ । पुनस्र्थापनापछि ठूलो चोटपश्चात् उपचारपछि पुनः खेलमा फर्किने प्रक्रिया शुरु हुने गर्दछ ।

भलिबल, कबड्डी, मार्सल आर्ट जस्ता खेलहरु हलभित्र उपयुक्त कार्पेटमा खेलाउनुपर्नेमा साह्रो जमिनमा खुला ठाउँमा खेलाउँदा टाउको, घुँडा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्ने गरेको छ ।
नेपालका खेल स्वास्थ्यविज्ञ तथा बागमती प्रदेशका खेलकुद विकास परिषद्का लेखविज्ञ दीपेन्द्र ढकालले भने–प्रतियोगिताहरु आयोजना गर्दा उचित जनशक्तिहरु परिचालन नगरिनु, पानी बोक्ने व्यक्ति र मैदानभित्र उपचार गर्ने व्यक्ति एउटै हुनु, एम्बुलेन्सलाई तयारीमा नराखिनु, तत्काल उपचारका लागि अतिसामान्य चिकित्सकीय प्रवन्ध मिलाउनु, उपकरणहरु पर्याप्त नहुनु नै नेपाली मैदानका मुख्य समस्याहरु हुन् ।

‘अझ चोटग्रस्त खेलाडीलाई जबर्जस्ती खेलाउँदा थप गम्भीर चोट लाग्नसक्छ भन्नेमा ध्यान दिने गरिएकै छैन, जित्न पाए भयो,’ उनले भने–खेल्दा समस्या भए शरीरको पछाडि भागमा बढी समस्या हुने गर्छ, शरीरका जोर्नीमा असर गर्छ । मांशपेशी फर्किएमा पुरानै अवस्थामा फर्काउन जबर्जस्ती गर्न नहुने उनको भनाइ छ । ‘तर, स्थानीयस्तरमा घाइते भए पनि राम्रा खेलाडीलाई प्रशिक्षकले जबर्जस्ती मैदानका छिराउने गर्छन्,’ ढकालको गुनासो छ ।

खेलाडीलाई खेल्नुपर्ने वार्मअप तथा खेलिसकेपछि कुलडाउनको एक्सरसाइज अनिवार्य रहेको प्रशिक्षक ढकालले बताए । यहाँ कुनै पनि निकायले खेलाडीलाई ज्ञान नदिएको भन्दै उनले खेल्दा हुने इञ्जुरी र खेलाडीलाई खेलअनुसार आवश्यक पोषणबारे जानकारी गराउने नगरिएको दाबी गरे । खेलाडीको तौल, खेलको प्रकृति र खेलाडीले लगाउने जुत्ताले समेत खेलमा प्रभाव पार्ने उनको भनाइ छ ।
खेलाडीको तौलअनुसार जुत्ता नमिलेको अवस्थामा खुट्टामा समस्या हुने उनले बताए । स्वस्थ रहने नाममा बढी शारीरिक अभ्यास गर्नु पनि हानिकार रहेको ढकालले सुनाए । शरीरमा पानीको मात्रा तथा मिनरल्सको मात्रा मिल्नुपर्छ । खेल खेल्दा इञ्जुरी भएको ७२ घण्टासम्म चिसो आइसले सेक्नुपर्ने भए पनि केही समय सेकेपछि खेलाडीले वास्ता नगरेको उनले बताए ।

धेरैजसो जिल्ला र क्षेत्रीयस्तरका खेलमा दक्ष स्पोट्र्स फिजियो हुने नगरेका कारण गर्दा सानो चोट लागेका खेलाडीलाई पनि गलत मसाज वा व्यायाम गराउँदा चोट झन बल्झिएर खेलजीवन नै समाप्त भएका कयौं उदाहरण रहेको छ । चोटपटक लागेपछि खेलाडीमा आउने मानसिक दबाबलाई सम्बोधन गर्न नेपालमा स्पोट्र्स साइकोलोजिष्टको चरम अभाव छ । यसले गर्दा खेलाडीहरु डिप्रेसनमा जाने वा खेलबाट पलायन हुने गरेका पनि छन् ।