काठमाडौं ।
निर्वाचन सम्पन्न भएको लामो समयपछि अन्ततः नेपाली कांग्रेसले संसदीय दलको नेता टुंग्याएको छ । आन्तरिक छलफल, विवाद र सहमतिको प्रयासपछि भीष्मराज आङदेम्बे सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुनु भएको छ । सोमवार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकले आङदेम्बेलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने प्रस्ताव पारित गरेको हो ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले आङदेम्बेको नाम सर्वसम्मत रूपमा पारित भएको जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि जारी आन्तरिक छलफल अन्ततः सहमतिमा टुंगिँदै पार्टीले संसदीय दलको नेतृत्व चयन गर्न सफल भएको हो ।
नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयनलाई लिएर केही समयदेखि मतभेद र विवाद देखिँदै आएको थियो । विभिन्न गुटबीच सहमति जुटाउन कठिनाइ भएपछि प्रक्रिया लम्बिँदै गएको थियो । यद्यपि, पार्टी नेतृत्वले सहमतिमै नेतृत्व चयन गर्ने रणनीति लिँदा अन्ततः सर्वसम्मत निर्णय सम्भव भएको हो ।
यसै सन्दर्भमा पार्टी सभापति गगन थापाले दलको नेता चयनमा ढिलाइ हुनुको कारण स्पष्ट पार्दै परिपक्व निर्णयका लागि समय लागेको बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘बाहिरबाट हेर्दा ढिलाइजस्तो देखिए पनि हामी सहमतिमा पुगेर परिपक्व निर्णय गर्ने प्रयासमा थियौं । त्यसैले केही समय लाग्यो, तर अन्ततः हामीले सहमतिमा योग्य र परिपक्व नेतालाई चयन गरेका छौं ।’
नवनिर्वाचित संसदीय दलका नेता आङदेम्बेले आफूहरू संख्यात्मक रूपमा कमजोर देखिए पनि विचार, दृष्टिकोण र नीतिमा स्पष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी संख्यामा कम छौं, तर विचारमा परिपक्व र प्रष्ट छौं । अब हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनताको मुद्दालाई प्रभावकारी रूपमा उठाउनेछौं ।’
कांग्रेसले संसदीय दलको नेता चयन गर्न ढिलाइ गरेको विषयलाई लिएर सार्वजनिक रूपमा आलोचना पनि भइरहेको थियो । तर, पार्टीभित्र सहमति जुटाएर सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न सफल भएकोमा नेताहरूले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।
अब आङदेम्बेको नेतृत्वमा कांग्रेस संसदीय दलले संसदमा आफ्नो भूमिका कसरी प्रस्तुत गर्छ भन्ने चासो बढेको छ । पार्टीभित्रको एकता मजबुत बनाउँदै प्रभावकारी प्रतिपक्षको भूमिका खेल्ने चुनौतीसमेत नयाँ नेतृत्वसमक्ष रहेको छ ।











प्रतिक्रिया