उच्च अदालत पाटनद्वारा पाटन अस्पतालको पार्किङ शुल्क खारेज, बिरामीलाई राहत

4.32k
Shares

काठमाडौं ।

स्वास्थ्य उपचारकै क्रममा थप शुल्कको मार खेप्दै आएका बिरामी र उनका कुरुवालाई राहत दिँदै उच्च अदालतले पाटन अस्पतालको पार्किङ शुल्क असुली गर्ने निर्णय बदर गरेको छ। ऋषि राजभण्डारी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले अस्पतालमा उपचारका लागि आउने बिरामी, उनका कुरुवा तथा सेवाग्राहीबाट पार्किङ शुल्क असुल्दा उनीहरूमाथि थप आर्थिक भार पर्ने ठहर गर्दै उक्त निर्णय उत्प्रेषणको आदेशमार्फत खारेज गरेको हो।

अदालतले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा उपचार लिन आउने सर्वसाधारणलाई अनावश्यक आर्थिक दबाब दिन नहुने भनेको छ। आदेशमा भनिएको छ ‘अस्पतालमा भर्ना भएका विरामी, निजका कुरुवाहरु तथा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले पार्किङ गरेका सवारी साधनहरुको पार्किङ शुल्क लिंदा विरामी तथा सेवाग्राहीहरुलाई थप आर्थिक व्ययभार पर्ने देखिंदा अस्पतालमा उपचार गराउन आउने विरामी, निजका कुरुवाहरु तथा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीबाट पार्किङ शुल्क नलिनू ।

’ प्रतिष्ठान परिसरमा रहेको भूमिगत पार्किङ क्षेत्र भाडामा दिने सम्बन्धी बोलपत्र आहवान एक राष्ट्रिय दैनिकमा २०८२ असोज २८ गते पहिलो पटक प्रकाशित गरेको थियो।१९ दशमलब ३२५ वर्गफिट भूमिगत पार्किङ क्षेत्रमा सवारी साधन पार्किङ गर्न भाडामा दिन प्रक्रिया अघि बढाएको बेला यस विरुद्ध उच्च अदालतमा रिट निवेदन परेको थियो।हरिभक्त श्रेष्ठ, ललितपुर महानगरपालिका– ११ निवासी पृथबिन्दु महर्जन ललितपुर महानगरपालिका– २२ बस्ने नारायण तण्डुकार समेतले रिट दायर गरेको थियो।

सो रिटमा पार्किङ शुल्क निर्णयले अस्पतालमा बिरामी उपचारका क्रममा स्वास्थ्य लाभ गर्न आउने र बिरामी हेरचार गर्न आउने सर्वसाधारणलाई मर्का पर्ने र थप आर्थिक बोझ हुन भन्दै सो निर्णय बदर गर्न माग गरिएको थियो।रिटमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,, जिल्ला प्रशासन कार्यालय, ललितपुर महानगरपालिकालाई विपक्षी बनाईएको थियो। यस अघि उच्च अदालतले २०८२ कार्तिक २७ गते पाकिङ ठेक्कामा दिने बोलपत्र आहवान तत्काल कार्यान्वयन नगर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाउँमा अन्तरकालीन आदेश जारी गरेको थियो।

त्यसैगरी अदालतले बिरामीका कुरुवा वाहेक अरुको हकमा सम्झौता भन्दा बढी पार्किङ शुल्क नलिनु, लिन नलगाउनु भनेको छ।त्यसैगरी स शुल्क पार्किङ गरेका सवारी साधनहरुको हकमा सम्झौता बमोजिम यथोचित सुरक्षा प्रबन्ध मिलाउनु, मिलाउन लगाउनू भनी विपक्षी मध्येको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाउ“मा परमादेशको आदेश जारी गरेको छ।

प्रतिष्ठानले अदालत समक्ष लिखित जवाफमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा जो कोही प्रवेश गरी सवारी साधनलाई अस्पताल परिसर भित्र जथाभावी अनियन्त्रित तवरले पार्किङ गर्न दिँदा मानिस एवम् सवारी साधनका कारणले अस्पताल भित्र अनावश्यक भिडभाड हुने र यसको प्रत्यक्ष असर विरामी र निजका कुरुवाहरुलाई पर्न सक्ने उल्लेख गरेको थियो।यसै कुरालाई दृष्टिगत अदालतले बिरामी र कुरुवाबाहेको हकमा व्यवस्थित गर्नु र सम्झौता भन्दा शुल्क नलिनु भनि परमादेश दिएको हो।

रिट निवेदकका तर्फबाट कपिलचन्द्र पोखरेल,राजु शाक्य, षटकोण श्रेष्ठ, युद्धमान महर्जन र उच्च सरकारी कार्यालय पाटनका उपन्यायाधिवक्ता विनोद पौडेल, महानगरपालिकाको तर्फबाट प्रवीण नापित, गणेशकुमार सिलवाल र प्रतिष्ठानको तर्फबाट विजयकुमार बस्नेतले बहस गर्नुभएको थियो।