पार्टीले गर्ने हरेक निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु: गृहमन्त्री गुरुङ


काठमाडौँ।

गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेका आरोपका विषयमा छानबिन भए आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन्। उनले आफूले कुनै गलत काम नगरेको पनि स्पष्ट पारेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पार्टीले गर्ने निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने र आवश्यक परे अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताएका छन्।

उनमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग व्यवसायिक सम्बन्ध रहेको आरोप पनि लागेको छ। साथै, जेनजी आन्दोलनपछि ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको र त्यसको विवरण सम्पत्ति घोषणा नगरेको भन्ने समाचार पनि सार्वजनिक भएका छन्।

यसै विषयलाई लिएर नेपाली कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै छानबिनको माग गरेको छ।

यसैबीच, गृहमन्त्री गुरुङले सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका थिए र सोही क्रममा उनले आफ्नो पक्षबारे जानकारी गराएका थिए।

गुरुङले भनेका छन् कि व्यक्तिगत लगानीलाई गलत तरिकाले व्याख्या गर्नु उचित होइन। उनका अनुसार लगानी गर्नु र बिचौलियासँग मिलेमतो गर्नु फरक कुरा हो, र यसलाई राजनीतिक रूपमा जोडेर प्रस्तुत गर्नु गलत हो।