काठमाडौंमा प्रहरी सक्रियता सुदृढ गर्न एआईजी कार्कीको निर्देशन


काठमाडौं।

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मंगलबार परिसरको विभिन्न शाखा, परिचालन कक्ष तथा संरचनाहरूको निरीक्षण गरेका हुन्। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका थिए।

एआईजी कार्कीले काठमाडौं जिल्ला भीभीआइपी तथा भीआइपी व्यक्तिहरूको बसोबास स्थल हुनुका साथै संवेदनशील संरचनाहरू (Vital Installations) रहेको उल्लेख गर्दै यहाँ घट्ने प्रत्येक घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय बन्न सक्ने बताए। यस्तो अवस्थामा प्रहरी कर्मचारीहरूले चुनौतीलाई अवसरका रूपमा लिँदै आफ्नो पेशागत दक्षता, नेतृत्व क्षमता र जिम्मेवारीलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

उनले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै गैरकानुनी क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिए। साथै, भविष्यका चुनौतीलाई ध्यानमा राख्दै सूचना संकलन प्रणालीलाई अझ प्रभावकारी बनाउने, प्रविधिको अधिकतम प्रयोग गर्ने र प्रहरी परिचालनलाई चुस्त बनाउँदै काठमाडौं उपत्यकाको सुरक्षा मजबुत बनाउन आग्रह गरे।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापासहित वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत, हवल्दार र जवानहरूको उपस्थिति रहेको थियो।