विचौलिया भट्टका कारण ८० हजार लगानीकर्ताको ५ अर्ब जोखिममा


काठमाडौं।

धितोपत्र बजारमा गम्भीर अनियमितता भेटिएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमतिपत्र निलम्बन गरेको छ। सेबोनको निर्णयअनुसार ब्रोकर नम्बर ५५ रहेको उक्त कम्पनीले कानुनविपरीत गतिविधि गरेको ठहर गरिएको हो ।

अनुसन्धानमा कम्पनीले ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितोबापतको रकम अन्य ग्राहकको कारोबार मिलाउन प्रयोग गरेको, अग्रिम न्यूनतम २५ प्रतिशत रकम नलिई सेयर खरिद सुविधा दिएको र राफसाफ प्रक्रियामा समेत नियम उल्लंघन गरेको पाइएको छ । यो प्रकरणमा बिचौलियाका नाइके दीपक भट्टको संलग्नता देखिएको छ । भट्टले विभिन्न कम्पनीहरूको रकम प्रयोग गरी ठूलो परिमाणमा सेयर खरिद गरेको र सो कारोबार भृकुटीमार्फत् गरिएको खुलेको छ । भट्टले नेपाल रि इन्स्योरेन्स, गार्जियन माइक्रो लाइफ र नेपाल माइक्रो लाइफलगायतका कम्पनीहरूको सेयर खरिदका लागि अर्बौं रुपियाँ परिचालन गरेको पाइएको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल बीमा प्राधिकरणको संयुक्त अनुसन्धानपछि भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो। सार्वजनिक कम्पनीहरूको रकम प्रयोग गरी खरिद गरिएका सेयर कारोबारसमेत रोक्का गरिएको छ । सेबोनका अनुसार चैत १२ गतेसम्म भृकुटीले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम ५ अर्ब ११ करोड रुपियाँभन्दा बढी पुगेको छ । कम्पनीले उधारोमा सेयर किनिदिने, रकम नलिई हितग्राही खातामा सेयर जम्मा गरिदिने तथा बिक्रीकर्तालाई समयमै भुक्तानी नगर्ने जस्ता कार्यले बजारमा गम्भीर जोखिम सिर्जना गरेको निष्कर्ष निकालिएको छ ।

यस्ता गतिविधिले धितोपत्रको मूल्यमा कृत्रिम प्रभाव पार्ने, बजारमा असन्तुलन ल्याउने र लगानीकर्तालाई ठूलो नोक्सानी हुने जोखिम देखिएकाले सेबोनले चैत २३ गतेको निर्णयअनुसार कम्पनीको अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको जनाएको छ । निलम्बनसँगै करिब ८० हजार लगानीकर्ता प्रभावित भएका छन्। सेबोनले कम्पनीलाई कानुनी प्रक्रिया पूरा गरी लगानीकर्ताको रकम फछ्र्योट गर्न निर्देशन दिएको छ भने निलम्बन अवधिमा अन्य ब्रोकरमार्फत कारोबार गर्न आवश्यक सहजीकरण गर्न पनि भनेको छ । यद्यपि, लगानीकर्ताले सिधै अर्को ब्रोकरबाट कारोबार गर्न भने पाउने छैनन्। पहिले हालको ब्रोकरसँग राफसाफ गरी कारोबार खाता बन्द गरेको प्रमाण लिएपछि मात्र नयाँ ब्रोकरमार्फत कारोबार सुरु गर्न सकिने व्यवस्था रहेको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको छानबिनअनुसार, दीपक भट्ट र उनको समूहले हिमालयन रि इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स जस्ता पब्लिक कम्पनीबाट ३ अर्ब ७३ करोड रुपियाँ भृकुटी स्टक ब्रोकरलाई एडभान्स दिएको देखिएको छ । यो रकमको मुख्य उद्देश्य नेपाल रि इन्स्योरेन्सको २० लाख कित्ता सेयर २ अर्ब ८९ करोड रुपियाँ बराबर दीपक भट्टकै नाममा खरिद भएको छ ।
त्यस्तै ६२ करोड रुपियाँ सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवालको खातामार्फत दीपक भट्टको खातामा ट्रान्सफर भएको छ । भने २३ करोड रुपियाँ ऋषीराज मोर (मोर परिवार) लाई दिइएको छ । भृकुटी स्टक ब्रोकर (हिमालयन लाइफ इन्स्योरेन्सका पूर्व सीईओ मनोजकुमार लाल कर्णकी श्रीमतीको कम्पनी) यसको केन्द्रबिन्दु बनेको छ । यो प्रकरणले पब्लिक कम्पनीको पैसा कसरी निजी बिचौलियाको सेयर साम्राज्य निर्माणमा प्रयोग भइरहेको छ भन्ने दिशा निर्देश गरेको छ । ।
दीपक भट्ट केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका सबै प्रमुख दलका नेतासँगको निकट सम्बन्धका कारण ‘प्रिपेड ग्रुप’को मुख्य योजनाकार मानिन्छन् । हरेक राजनीतिक दलका नेतृत्वसँग नजिकको सम्बन्ध राख्ने विचौलियाका रुपमा परिचित भट्टकै फेरो समाएर व्यापारिक समूह शंकर ग्रुप र त्यसका सञ्चालक सुलभ अग्रवालले पुनर्बीमादेखि जीवन, निर्जीवन र लघु बीमा कम्पनीसम्मका लाइसेन्स सहजै हात पारे व्यापरिक क्षेत्रमा ‘प्रिपेड ग्रुप’को नामले यो समूह परिचित भएको हो ।