सिद्धार्थ क्यापिटललाई आईएसओ ९००१ः२०१५ प्रमाणपत्र


काठमाडौँ
नेपालमा मर्चेन्ट बैंकिङ तथा फन्ड व्यवस्थापन क्षेत्रमा अग्रणी सिद्धार्थ क्यापिटल लिमिटेडले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।

यो गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र इन्टरनेशनल सर्टिफिकेसन सर्भिसेस प्रालि, मुम्बईबाट प्रदान गरिएको हो, जुन अस्ट्रेलिया र न्युजिल्यान्डको जोइन्ट एक्रेडिटेसन सिस्टमद्वारा मान्यता प्राप्त संस्था हो । यस प्रमाणपत्रले कम्पनीले गुणस्तर, कार्यकुशलता र ग्राहक सन्तुष्टिमा उच्च मापदण्ड कायम राख्ने प्रतिबद्धता झल्काएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्कीले यो उपलब्धिलाई महत्वपूर्ण माइलस्टोन भएको बताउँदै उत्कृष्टता र भरपर्दो वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता अझ सुदृढ भएको उल्लेख गर्नुभयो ।

आईएसओ ९००१ः२०१५ प्रमाणपत्र गुणस्तर व्यवस्थापन, प्रक्रिया सुधार, जोखिम व्यवस्थापन र निरन्तर सुधारका कडा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने संस्थालाई प्रदान गरिन्छ । सिद्धार्थ क्यापिटलले मर्चेन्ट बैंकिङ, फन्ड व्यवस्थापन, डिपोजिटरी सेवा तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवा प्रदान गर्दै आएको छ ।